६ महिनामा चार हजार दुर्घटना, एक सय ३२ को मृत्यु



काठमाडाैं: चालू आर्थिक वर्षको ६ महिनामा काठमाडौं उपत्यकामा चार हजार ८१ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा एक सय ३२ ले ज्यान गुमाएका छन् भने दुई हजार नौ सय ८१ घाइते छन् । यीमध्ये एक सय ३९ गम्भीर घाइते भए । 

आर्थिक वर्ष ०७४/७५ को ६ महिनाको तुलनामा यो वर्ष सवारी दुर्घटना करिब २५ प्रतिशतले बढेको हो । आर्थिक वर्ष ०७४/७५ मा उपत्यकामा ६ हजार तीन सय ८१ दुर्घटना भएकोमा ०७५/७६ को ६ महिनामै चार हजार ८१ दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक छ । तथ्यांकअनुसार उपत्यकामा दैनिक औसत २२ दुर्घटना हुने गरेको छ । चालकको लापरबाही नै दुर्घटना बढ्नुको प्रमुख कारण भएको ट्राफिक प्रहरीले जनाएको छ । 

पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार हरेक वर्ष दुर्घटनामा ज्यान गुमाउनको संख्या बढिरहेको छ  । आर्थिक वर्ष ०७४/७५ मा एक सय ९४, ०७३/७४ मा एक सय ८२, ०७२/७३ मा एक सय ६६, ०७१/७२ मा एक सय ३३ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकलचालक र पैदलयात्रु धेरै 

उपत्यकामा हुने दुर्घटनामा मोटरसाइकल तथा स्कुटर चालक उच्च जोखिममा रहेको ट्राफिकको तथ्यांक छ । पछिल्लो ६ महिनामा ६० जना मोटरसाइकल तथा स्कुटर चालक तथा सवार व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै, सवारीसाधनको ठक्करबाट ४७ पैदलयात्रुको मृत्यु भएको छ । कतिपय पैदलयात्रुको जेब्राक्रसमै बाटो काट्ने क्रममा मृत्यु भएको नयाँपत्रिकामा खवर छ । 

ट्रकमा सात, साइकलमा तीन, बसमा पाँच, माइक्रोमा एक र कारमा सवार एक जनाले यो अवधिमा दुर्घटनामा ज्यान गुमाएका छन् । पछिल्लो ६ महिनामा भएका चार हजार दुर्घटनामा २ हजार ६ सय ६५ मोटरसाइकल तथा स्कुटर छन् । यस्तै, २२ जनाले बस, ट्रक तथा टिपरको ठक्करबाट ज्यान गुमाएका छन् । 

तीव्र गति तथा ट्राफिक नियम पालना नगर्नु दुर्घटना बढ्नुको मुख्य कारण रहेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्