सत्तारुढ अनेरास्ववियूमा फेरि विवाद, उपत्यकास्तरीय भेला रोकियो



काठमाडौं : सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूमा फेरि विवाद उत्पन्न भएको छ ।

मंगलबार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा उपत्यकास्तरिय कार्याकर्ता भेला डाकिएपछि संगठनको विवाद छताछुल्ल भएको हो ।

अनेरास्ववियूका सह संयोजक रञ्जित तामाङले आवश्यक तयारी नपुगेकाले मंगलबारको भेला स्थगित गरिएको फेसबुकमा लेखेका छन् ।

उनी पूर्व माओवादीका तर्फबाट सह संयोजक भएका हुन् । पूर्व माओवादी निकटकै अर्का विद्यार्थी नेता सुरेन्द्र बस्नेतले पनि भेला रोकिएको बताए । संगठनले उपत्यकामा कुनै भेला आयोजना नगरेकाले नेतृत्व त्यस्तो भेला स्थगित गर्न पार्टी कार्यालय पुगेको बताएका छन् ।

अनेरास्ववियुकै अर्का नेता वसिम आलमले संगठनको कुनै कमिटीबाट निर्णय नगरि भेला आयोजना हुन नसक्ने बताएका छन् । उनले आफुखुसी भेला आयोजना गर्दै हिड्ने अधिकार कसैलाई नभएको फेसबुकमै लेखेका छन् ।

आलमले फेसबुकमा लेखेका छन् : ‘संगठन भित्र नकुनै छ्लफल , नकुनै निर्णय आफूखुसी भेला बैठक बोलाउने अधिकार कसैलाई छैन। आफूखुसी आफ्नो इच्छाले गरिएको भेला बैठक संगठनको हुँदै होइन। एउटा सामान्य क्लब त विधानले चल्छ भने यत्रो ठुलो संगठनको त झन् छुट्टै नीति नियम हुन्छ। आज अनेरास्ववियूको नाममा केन्द्रिय कमिटी द्वारा आयोजीत उपत्यका स्तरीय भेलाको कुनै पनि कमिटीमा निर्णय भएको छैन । छ भने आधिकारिकता खै ?’

तत्कालीन एमाले निकट अनेरास्ववियुका सचिव रहेका सुदेश पराजुलीले पनि निर्णय र सर सल्लाहबिनै भेला आयोजना गर्दै हिँड्नेँ अधिकार कसैलाई नभएको बताए । उनले मनलाग्दी भेला आयोजना गर्ने परिपाटीले संगठनमा अनुशासनहिनता मौलाउने तर्फ पनि सबै सचेत हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्