अस्ट्रेलियाविरुद्धको एक दिवसीय श्रृखंलामा भारतको कब्जा



एजेन्सी : भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको एक दिवसीय श्रृंखला जितेको छ । अन्तिम तथा निर्णायक खेलमा महेन्द्रसिंह धोनीको नट आउट ८७ रनको मद्दतमा जित हात पार्दै भारतले श्रृंखला २–१ले जितेको हो ।

शुक्रबार भएको खेलमा भारतले अस्ट्रेलियालाई ७ विकेटले हराएको हो । २ सय ३१ रनको लक्ष्य भारतले ४ बल बाँकी छँदा तीन विकेट गुमाएर भेट्टाएको हो । भारतका लागि धोनीले ८७ रनको नट आउट पारी खेल्दा केदार जादवले नट आउट ६१ रनको योगदान दिए । कप्तान विराट कोहलीले ४६ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली अस्ट्रेलियाले ४८‍.४ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन बनाएको थियो । अस्ट्रेलियाका लागि पिटर ह्यान्डसकोम्बले ५८ रनको योगदान गर्दा सेन मार्सले ३९ र उस्मान ख्वाजाले ३४ रन बनाए ।

भारतका महेन्द्रसिंह धोनी 'म्यान अफ द सिरिज' बनेका छन् । अन्तिम एक दिवसीयमा ८७ रनको योगदान दिएका धोनीले पहिलो र दोस्रो खेलमा पनि अर्धशतकीय पारी खेलेका थिए । 

पहिलो एक दिवसीय खेल अस्ट्रेलियाले ३४ रनले जितेको थियो भने दोस्रोमा भारत ६ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्