चर्चित काण्ड : जसका कारण मन्त्रीदेखि सभामुखसम्मले गुमाए पद



काठमाडौं : तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैताकिताका आधारमा राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि ‘बार्गेनिङ’ गर्दै गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका हुन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरिन् । बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

यसरी मन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुमध्ये नैतिकताका आधारमा राजीनामा दिने बास्कोटा पहिलो व्यक्ति भने होइनन् । यसअघि पनि देशका ठूला व्यक्तिहरु विभिन्न काण्डका कारण चर्चामा आए र सर्वत्र विरोधपछि राजीनामा दिए । केहीलाई बर्खास्त समेत गरिएका प्रसस्तै उदाहरणहरु हुन् ।

केही समयअघि मात्रै पूर्व सभामुख कृष्णबहादुर महरा संसदीय सचिवालयकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पदमुक्त भएका थिए ।

यसैगरी, केही यस्ता चर्चित काण्डहरु विगत लामो समयदेखि हुँदै आएका छन् जसबाट उच्च पदस्थ व्यक्तिहरुले आफ्नो पद गुमाए ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा
तत्कालीन सभामुख कृष्णबहादुर महराले २०७६ असोज १४ गते राजीनामा दिएका थिए । उनीमाथि संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुव्र्यवहारको प्रयास गरेको आरोप लागेको थियो ।

यद्यपि हालै महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । उनले अदालतबाट आफूले न्याय पाएको टिप्पणी गरेका छन् ।

तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुली
तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले ‘रोपाइँ काण्ड’पछि राजीनामा दिएका थिए । २०७२ असार १५ गते धान दिवसका अवसरमा काठमाडौँको मुलपानीमा आयोजित कार्यक्रममा अश्लील व्यवहार देखाएका थिए । जसका कारण उनको पद गुम्यो ।

तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ
बंगलादेशमा एमबीबीएस पढ्न जाने नेपाली छात्राले सर्टिफिकेट पाउनका लागि शारीरिक सम्बन्ध कायम गर्नुपर्ने अभिव्यक्ति दिएका तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले २०७५ साउन ८ गते राजीनामा दिएका थिए ।

तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारी
२०६८ असोजमा तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारीले विवादास्पद अभिव्यक्ति दिए । उनले मधेसका २२ जिल्लाले छुट्टिने निर्णय गरेमा कुन ऐन र कानुनले रोक्न सक्छ भन्दै टिप्पणी गरेका थिए । विवाद चर्किएपछि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई बर्खास्त गरेका थिए ।

तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवाली
२०७२ असोज १५ मा तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवाली बर्खास्त भएकी थिइन् । सोलु करिडोर निर्माणका क्रममा भएको ठेक्का सम्झौतामा करिब २६ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री ज्ञवालीमाथि कारवाहीको सिफारिस गरेको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई बर्खास्त गरेका थिए ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्खास्त
२०७६ भदौमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीलाई बर्खास्त गरिएको थियो । नक्कली बैङ्क ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई बर्खास्त गरेका थिए ।

खत्रीसहित पाँच जनाले कृषि विकास बैङ्क भोजपुरबाट एक करोड १० लाख ८० हजार रुपैयाँको नक्कली ग्यारेन्टीपत्र बनाएको आरोप थियो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी बर्खास्त
२०७५ कार्तिक २७ गते सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरिएको थियो । परस्त्रीसँगको सम्बन्ध प्रकाशमा आएपछि पदीय आचरणविपरीत काम गरेको भन्दै उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।

सुदूरपश्चिम प्रदेशकै राज्यमन्त्री रावलको राजीनामा
सुदूरपश्चिम प्रदेशकै उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलले पनि आर्थिक अनियमितता तथा किर्ते काण्डपछि पद गुमाएका थिए । २०७६ कात्तिक २४ गते उनले राजीनामा दिएका हुन् ।

कञ्चनपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको शेयरमा ठगी तथा किर्ते गरेको आरोपमा उनीविरुद्ध २०७६ साउन ७ गते जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको थियो ।

बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्खास्त
तत्कालीन प्रदेश ३ (हाल बागमती प्रदेश) का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित पनि १५ महिना अघि बर्खास्त भएका थिए । प्रदेश मन्त्रिपरिषद बैठकमै मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि उनी बर्खास्तमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्