हिंसामुक्त रणनीतिक कार्ययोजना सार्वजनिक



बुटवल : बुटवल उपमहानगरपालिकाले लैङ्गिक हिंसामुक्त बुटवलको रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।

‘लैङ्गिकमैत्री सहर बुटवल उपमहानगर’ अभियानलाई सार्थक तुल्याउने उद्देश्यले आज बुटवलमा आयोजना गरिएको विशेष समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभाका सदस्यहरु, उपमहानगरपालिका प्रमुख उपप्रमुखले रणनीतिक कार्ययोजना सार्वजनिक गरेका हुन् ।

समारोहमा मुख्यमन्त्री पोखरेलले लैङ्गिक हिंसाको अन्त्यका लागि व्यक्ति, परिवार, समाज र सरकार मिल्नुपर्ने बताए । उनले परिवार राम्रो भए समाज राम्रो हुने भएकाले व्यक्ति र परिवारबाटै हिंसा अन्त्यका लागि व्यवहार परिवर्तनको थालनी गर्नुपर्ने बताए ।

“बाहिर प्रतिबद्धता जनाउने घरभित्र उस्तै परम्परागत रुपमा जे गरिएको त्यही व्यहार नछोड्ने प्रतिबद्धताको अर्थ हुँदैन,” मुख्यमन्त्री पोखरेलले भने–“सबैले सुध्रने र सुधार्ने कुरा गर्नुपर्छ ।”
उनले हिंसा अन्त्यका लागि छोरा र छोरीबीचको असमान व्यवहार परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए । छोरीलाई अनुशासन सिकाउने र छोरालाई बहादुर बनाउन सिकाउँदा समाजमा छोरीहरुले हिंसा खेप्नु परेको बताउँदै उनले अबका दिनमा छोरीलाई बहादुर बन्न र छोरालाई अनुशासनको पाठ सिकाउन अत्यावश्यक रहेको धारणा राखे ।

उनले महिला एक पटक हिंसामा परेपछि जीवन पर्यन्त हिंसामा पर्नुपर्ने अवस्थाको अन्त्य गरी समाजमा चेतना प्रवाह गर्नुपर्ने बताए । “सबैभन्दा पहिले आफूभित्रको हिंसाजन्य चिन्तनविरुद्धको लडाइँ लड्नुपर्छ, तपाइँ लड्दा जुन सामथ्र्य विकास हुन्छ अनि सामाजिक कुरीतिविरुद्ध लड्न सहज हुन्छ”, मुख्यमन्त्री पोखरेलले भने ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आधुनिक युगमा लैङ्गिक हिंसा हुनुलाई स्वभाविक मान्न नसकिने बताउँदै यो विषय कानुनी रुपमा दण्डनीय रहेको बताए । उनले उपमहानगरलाई हिंसामुक्त बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताए ।

उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले हिंसामुक्त समाजको कल्पना गर्नु चुनौतीपूर्ण रहे पनि नगरवासीको ऐक्यबद्धताले सम्मानयुक्त वातावरण तयार गरी हिंसामुक्त बनाउने दिशातर्फ अगाडि बढेको बताए ।

आर्थिक वर्ष २०७६-७७ देखि आव २०८१-८२ सम्म लैङ्गिक समानताका लागि नीति निर्माण गर्ने, हिंसा प्रभावितले मौनता तोड्नसक्ने वातावरण निर्माण गर्ने, छिटोछरितो न्याय पाउने वातावरण निर्माण गर्ने, महिला सशक्तीकरणसम्बन्धी दीर्घकालीन योजना कार्यान्वयन गर्ने, सचेतना अभियान चलाउने, लैङ्गिक हिंसाको जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने, सामाजिक विभेदमा आधारित हानिकारक परम्पराको अन्त्य गरी समानतामा आधारित समाज निर्माणको आधार तयार गर्नेलगायतका विभिन्न कार्यक्रम कार्यान्वयन गरी बुटवललाई लैङ्गिक हिंसामुक्त बनाइने सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्यालले जानकारी दिए ।

कार्यक्रममा नगरवासीले लैङ्गिक हिंसामुक्त बुटवलको रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्