एमसीसीबारे नेकपाले गठन गरेको कार्यदलले आजै प्रतिवेदन बुझाउँदै



काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे अध्ययन गर्न गठन गरेको कार्यदलले प्रतिवेदन तयार गरेको छ ।

सिंहदरबार स्थिन नेकपाको संसदीय दलको कार्यालयमा आज बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गर्दै पार्टीलाई बुझाउँदै छ । कार्यदल प्रतिवेदन बुझाउँन अहिले प्रधानमन्त्री निवास बालुवाटर पुगिसेको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललाई संयुक्त रुपमा सो प्रतिवेदन बुझाउँने तयारी भएको छ । नेकपा स्थायी कमिटी सदस्य एवं कार्यदलका सदस्य भीम रावलले प्रतिवेदन तयार गरेर बुझाउँन प्रधानमन्त्री निवास बालुवाटार पुगिसेको बताए ।

‘कार्यदलको तर्फबाट एमसीसीको अनुदान सहायताको सम्बन्धमा जुन उद्देश्यका साथ हामी काम गरेका थियौँ, त्यसलाई सम्पन्न गरेका छौं’ उनले भने, ‘हामीले सरकार र एमसिसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेका छौं ।’

प्रतिवेदन पार्टीलाई बुझाएपछि एमसीसीका सम्बन्धमा के निर्णय गर्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गरेर निर्णय गर्ने बताए । पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि आवश्यक निर्णय केन्द्रीय कमिटी बैठकले गरेअनुसार हुने उनले बताए ।

प्रतिवेदन पार्टी अध्यक्षसमक्ष प्रस्तुत गरेपछि मात्र प्रतिवेदनमा उल्लेख गरिएका कुराबारे जानकारी गराइने उनले बताए । नेकपाको माघ १५ देखि १९ गते सम्म भएको केन्द्रीय कमिटी बैठकले एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

नेकपाले सो कार्यदललाई एमसीसी बारे अध्ययन गरी १० दिनभित्रमा प्रतिवेदन बुझाउँन समय दिएको थियो । तर कार्यदलले पाएको समयसिमा भित्रैमा बुझाउँन नसकेपछि थप समय पाएको थियो । कार्यदलको गत माघ २९ गते नै कार्यदलको समय सकिएको थियो । पछि नेकपाले थप दश दिनको समय थपेको थियो ।

प्रतिक्रिया दिनुहोस्