७० करोड कमिसन प्रकरण : अख्तियारको निगरानीमा बाँस्कोटा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई आफ्नो निगरानीमा राखेको छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिल गरेको अडियो टेप सार्वजनिक भएपछि मन्त्री पदबाट राजिनामा दिएका बाँस्कोटालाई अनुसन्धान प्रक्रिया अगाडी बढाउँन अख्तियारले आफ्नो निगरानीमा राखेको हो ।

कमिसन डिल गरेको अडियो टेप सार्वजनिक भएपछि छानविनमा सहयोग पुगोस भन्दै बाँस्कोटाले नैतिकताका आधारमा हिजो (विहिबार) राजिनामा दिएका हुन् । उनको राजिनामा हिजै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरिसकेका छन् ।

अख्तियार स्रोतका अनुसार कमिसन डिल अडियो टेप प्रकरणमा सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने खतरालाई ध्यानमा राख्दै बाँस्कोटालाई निरगानीमा राखिएको हो । कमिसन डल बिषयमा अगाडी बढाउँने क्रममा अख्तियारले बाँस्कोटासंग बयान लिने तयारी समेत गरिरहेको अख्तियार स्रोतले जनाएको छ ।

मन्त्रीपदबाट बाँस्कोटाले राजिनामा दिए लगतै अख्तियारले उनको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपुर्ण कागजात आफ्नो नियन्त्रणमा लिइसकेको छ । यसका साथै सम्बन्धी निकायसंग यससंग सम्बन्धी विवरणहरु पनि मगाइएको बताईएको छ ।

प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडिओ बुधबार सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदमा यस बिषयमा जोडदार आवाज उठाउँदै कारवाहीको माग गरेको थियो । चौतर्फी बिरोध हुन थालेपछि बाँस्कोटाले मन्त्रीपदबाट राजिनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्