गाेर्खालीले मिरकासिमलाई हराएकाे स्मरणमा विजयाेत्सव



हेटौँडा : गाेर्खाली सेनाले मुसलमान वंशका मिरकासिमको फौजलाई हराएको स्मरणमा यही माघ १० गते मकवानपुरगढीमा विजयोत्सव आगोजना गरिने भएको छ । 

 

बङ्गालबाट आएका मुसलमान मिरकासिम नेतृत्वको फौजलाई विसं १८१९ माघ १० गते गाेर्खाली सेनाले हराएको उपलक्ष्यमा प्रदेश नं ३ अन्तर्गत मकवानपुर जिल्लाको हाल गढी गाउँपालिका–२ स्थित मकवानपुरगढी दरबार परिसरमा यही माघ १० गते सो महोत्सव आयोजना गर्न लागिएको हो । 

तत्कालीन मकवानपुर राज्यलाई गोर्खाली फौजले विसं १८१९ भदौ ९ गते आक्रमण गरी आफ्नो अधिनमा लिएका थिए । मकवानपुरका अन्तिम सेन राजा तथा पृथ्वीनारायण शाहका जेठान दिगबन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँको आग्रहमा गोर्खाली सेनाविरुद्ध बङ्गालबाट मुसलमानी सेना आएकाे थियाे ।

 

उक्त सेनालाई गाेर्खाली फाैजले विसं १८१९ माघ १० गते परास्त गरी भगाएको सम्झनामा केही वर्षअघिदेखि यहाँ नेपाली सेनासहित नागरिक समाजले विजयोत्सव मनाउने गरेको उक्त गढीको अध्येता समाजसेवीद्वय केदार न्यौपाने र वकिलराज बानियाँले बताए । विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिको रूपमा आन्त्रण गरिएको छ । 

तत्कालीन मकवानपुर राज्यअन्तर्गत सेन वंशका राजाले १३औँ शताब्दीको सुरुतिर यहाँ शासन गरेको थिए । सेन वंशका राजा मुकुन्द सेनको नामबाट ‘मुकुन्दपुर’, ‘माकन्दपुर’, ‘मुकुनपुर’बाट अपभ्रंश हुँदै ‘मकवानपुर’ नामकरण भएको इतिहासमा उल्लेख छ । सेन वंशका प्रथम राजा मुकुन्द सेनदेखि अन्तिम राजा दिगबन्धन सेनसम्मका दश पुस्ताले करिब ३ सय वर्षसम्म यहाँ शासन गरेका थिए । 

मकवानपुर राज्यको सिमाना पूर्वमा बराह क्षेत्र र जलपाइगुढी भारत, पश्चिममा रुरु क्षेत्र, पाल्पा, गुल्मी र उत्तरमा मुक्तिक्षेत्र र दक्षिणमा मुगल राज्यको बङ्गालसम्म पर्दथ्यो । मकवानपुरगढी दरबार क्षेत्र हेटौँडाको बुद्धचोकदेखि गढी दरबारसम्म १६ किलोमिटर टाढा पर्छ । सो स्थल समुद्र सतहदेखि करिब एक हजार १७ मिटर उचाइमा रहेको मकवानपुर जिल्ला समन्वय समितिका अधिकृत रामकृष्ण थापाको भनाइ छ । 

 

तत्कालीन नवाब मिरकासिमले गुरगिन खाँको नेतृत्वमा मकवानपुरमा हमला गर्न पठाएका करिब दुई हजार मुगल सेनको फौजलाई सेनापति वंशराज पाण्डे, केशरसिंह बस्नेत र रामकृष्ण कुँवर नेतृत्वको फौजले बहादुरीका साथ आक्रमण गरी पराजित गरेको र गढी दरबारको सुरक्षाका लागि वरिपरि ढुङ्गाको पर्खाल लगाएर बाहिरबाट आएका फौजले त्यहाँभित्रको गतिविधि निगरानी गर्न नसक्ने तुल्याइएको अर्का समाजसेवी केदार न्यौपाने बताउँछन् । 

 

विजयोत्सवमा गढी परिसरमा राष्ट्रिय झण्डोत्ताेलन गरिने, सातै प्रदेशको महत्व झल्किने नक्सा पनि राखिने भएको छ । शनिबार हेटौँडाको बुद्धचोकबाट गढी दरबारसम्म करिब १६ किलोमिटरसम्म साइकल र्याली गरिने, ९ गते म्याराथुन दौड आयोजना गरिने गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्