मोटरसाइकलको लाेभ त्यागेर दमकल किन्दै जनप्रतिनिधि



काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरिद गर्ने निर्णय गरेको छ । नगर प्रमुख महेश खरेलले कार्यपालिकाले मोटरसाइकलका लागि छुट्याएको बजेटले दमकल खरिद गर्ने निर्णय गरेको बताए । उनले भने, 'नगरको आवश्यकतालाई प्राथमिकता दिइयो ।' 

नगरको चालू आर्थिक वर्षमा रु २१ लाख ७५ हजार वडाध्यक्षका लागि मोटरसाइकल खरीद गर्न बजेट छुट्याइएको थियो । त्यस बजेटमा नगरको समग्र एकीकृत योजनाको केही रकम तथा अन्य खर्च जोगाएर करिब रु. ७१ लाखमा दमकल खरिद गरिने नगरप्रमुख खरेलले जानकारी दिए । 

नगरको आवश्यकतालाई प्राथमिकता दिएर मोटरसाइकलको बजेट दमकल खरिद गर्ने प्रक्रियामा सबै वडाध्यक्षले सहयोग गरेको सात नम्बरका वडाध्यक्ष पुष्कर ढकालले बताए ।उनले यसअघि पाँचखाल क्षेत्रमा आगलागी हुँदा निकै समस्या झेल्नुपरेकाले पनि दमकल खरिद गर्ने निर्णय भएकाे जानकारी दिए। गतसाल नगर प्रमुखलाई गाडी खरिद गर्न छुट्याइएको रु. ४५ लाख तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्