शिलान्यास भएको तीन वर्ष बित्याे, रानीपाेखरी पुनर्निर्माणलाई अझै छैन सुरसार



काठमाडौँ : शिलान्यास भएको तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनर्निर्माणको गति शून्य छ । २०७२ मा गएको भूकम्पबाट पूर्णरूपमा क्षति भएको ऐतिहासिक रानीपोखरी पुनर्निर्माणकाे सोही वर्ष माघ २ गते राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । २०७३ को तिहारका लागि प्रयोगमा ल्याइने भन्दै शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माण अझै थालनी हुन सकेकाे छैन ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाको हो । पोखरीको पुनःनिर्माण गर्ने भन्दै यसअघि कामपाले तेस्रोपटक बोलपत्र गरिसकेको छ । पुनर्निर्माणकै लागि अबको केही दिनमा चौथोपटक बोलपत्र आह्वान गर्ने तयारी कामपाको छ । 

कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार विगत तीन वर्षमा रानीपोखरी पुनर्निर्माण कार्य विवादमै रुमल्लिए पनि आगामी तिहारमा प्रयोग गर्न सकिने गरी अब निर्माणको तयारीमा कामपा जुटेको छ । 

कामपाले पोखरी र पोखरी आसपासमा कङ्क्रिट प्रयोग गरेको भन्दै उत्पन्न लामो विवादपछि रानीपोखरीलाई प्राचीन मल्लकालीन शैलीमै निर्माण गर्ने सहमति भएकाे छ । विज्ञ समूहको अध्ययनका आधारमा रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण ग्रन्थकुट शैलीमा गर्ने सहमति पनि भइसकेको छ । 

अहिले रानीपोखरी सुख्खा चौरमा परिणत भएको छ । यसअघि जस्तै विवाद भइराख्ने हो भने आगामी तिहारसम्ममा पनि पोखरी बन्ने कि नबन्ने भन्ने अन्योल कायमै छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आउँदो तिहारअघि रानीपोखरीमा पानी भरिने र मन्दिर निर्माण भइसक्ने दाबी गरेको छ । 

रानीपोखरी पुनर्निर्माणका विषयमा भएका विवाद समाधान भइसकेकाले काममा अवरोध नहुने प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले बताए । 'रानीपोखरी पुनर्निर्माणका विषयमा विगतमा ठूलो बहस भयो तर अहिले विवाद टुङ्गो लगाएर अगाडि बढेका छौं', ज्ञवालीले भने ।

पोखरीको पिँधमा परम्परागत शैलीकै निर्माण सामग्री प्रयोग गरेर पानी रोक्ने व्यवस्था र वरिपरिको पर्खाल पुनर्निर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाले लिएको छ । मन्दिर निर्माण भने पुरात्व विभागले गर्नेछ । 

प्रताप मल्लका छोरा चक्रवर्तीन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । 

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्