पाँच महिनामा साढे ८५ कराेडकाे माछामासु आयात



काठमाडौं : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ४२ लाख ८९ हजार ७ सय ३८ केजी तयारी मासु तथा माछा आयात भएको छ । 

 

भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयात विवरणमा पाँच महिनामा ८५ करोड ५६ लाख दुई हजार रुपैयाँबराबरको हाडरहित मासु, माछा, घुङ्गी आयात भएको उल्लेख छ । 

 

भारत, फ्रान्स, इटाली, नेदरल्यान्ड, थाइल्यान्ड, चीन, अष्ट्रेलिया, नर्वे, भियतनाम, बङ्गलादेश, सिङ्गापुर, जापान गरी १२ देशबाट अष्ट्रिच, टर्की, हाँस, बङ्गुर, भेडा, कुखुरा, विभिन्न थरीका माछा, झिङ्गे माछा तथा समुद्रमा पाइने विभिन्न जीवकाे तयारी मासु आयात भएको हो । 

 

आयातितमध्ये कतिपय वस्तु यहाँ उत्पादन गर्न सकिन्छ तर पनि आयात गरिएको छ । आयात गरिएको घुङ्गी (शङ्खे किरा) सिमसार, घोल, जमेको पानी र दबदबे जमिनमा पाइन्छ । पछिल्लोपटक सीमसार क्षेत्रमा अतिक्रमण बढेको छ । 

 

आगोमा सेकाएको, सग्लो तर मरेको, (हिउँ) ले ढाकिएको र जिउँदो माछा आयात भएको हो । जिउँदो बाहेक अन्य आयातित वस्तु नेपालका तारे होटेलमा खपत हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कले नेपालमा निर्यातभन्दा आयातको अंश २३ प्रतिशतले बढेको उल्लेख छ । एघार दशमलव दुई प्रतिशत निर्यात हुँदा ३४ दशमलव शून्य दुई प्रतिशतले आयात बढेको छ । 

 

चालु आर्थिक वर्षको पाँच महीनामा कूल आयात रु छ खर्ब सात अर्ब छ भने निर्यात रु ३७ अर्ब ५० करोडमा सीमित हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्