प्रधानमन्त्री ओली र पूर्वमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासहित चारजनाविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

आइतबार उनीविरुद्ध छानबिनको माग गर्दै बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन् ।

प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को भ्रष्टाचार सम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) अनुरुप भ्रष्टाचार रहेको भन्दै कारबाही गर्न माग गरिएको छ।

ऐनको यो दफामा राष्ट्रसेवकले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा वा नगर्न ‘रिसवत लिएमा वा लिन मञ्जुर गरेमा कैद र बिगो तथा जरिबानाको व्यवस्था गरेको छ। एक करोड रुपैयाँभन्दा बढी लिएमा ८ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था सो ऐनमा छ।

ऐनमा संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, सरकारका विशिष्ट श्रेणी वा सो सरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सो सरहका पदाधिकारीले यस परिच्छेद अन्तर्गतका कसुर गरेमा त्यस्तो कसुरमा हुने सजायमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

ऐनमा भएको व्यवस्था अनुसार भ्रष्टाचारको कसुरमा छानबिन गर्ने प्रष्ट आधार देखिने भएकोले आवश्यक छानबिन गरी हदैसम्मको कारवाही गर्न उजुरीमा माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्