अलपत्र मेलम्ची: ठेकेदारलाई दिएको समय सकियो, आज बोर्ड बैठक



काठमाडाैं: मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले शनिबार बेलुकासम्म कुनै जवाफ आयोजनालाई पठाएको छैन । आयोजनाले शुक्रबारसम्म कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्के ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल ठेकेदार कम्पनीलाई पठाएको थियो ।

‘ठेकेदार कम्पनीले हामीलाई आजसम्म कुनै रेस्पोन्स नै गरेन,’ आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने, ‘सकेसम्म पुरानै कम्पनीबाट बाँकी काम सम्पन्न गरौँ, राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न गरौँ भन्ने थियो, तर सम्भव भएन ।’ पुरानै ठेकेदार कम्पनी फर्काउन सके नेपाली सप्लायर्सको उठाउन बाँकी रकम उठाउन सजिलो हुन्छ भनेर आयोजनाले प्रयास गरेको भए पनि सम्भव नभएको उनले बताए । 

मेलम्ची आयोजना बोर्डको बैठक आज

आयोजनाका कार्यकारी निर्देशक कँडेलले आइतबार बोर्डको बैठक बसेर ठेक्का रद्द गर्न १४ दिने सूचना जारी गर्नेलगायतका निर्णय गरिने जानकारी दिए । यसअघि ठेकेदार कम्पनी सिएमसीले आयोजनाको बाँकी काम सम्पन्न गर्न र कम्पनीले पाउन बाँकी सबै बक्यौता रकम बाँकी काम सम्पन्न गर्नुअघि नै पाउनुपर्ने, जफत गरिएको धरौटी रकम फिर्ता हुनुपर्ने र काम सुरु गर्नुअघि सिंगापुर वा लन्डनमा वार्ता गर्नुपर्ने, कम्पनीका प्रतिनिधिको पासपोर्ट जफत नगर्ने प्रतिबद्धता आउनुपर्नेलगायतका सर्त अघि सारेको थियो । आयोजनाले युद्धको अवस्था नभएको र शान्ति–सम्झौता गर्नुपर्ने पनि होइन भन्दै काठमाडौंमै वार्ता गर्न सकिन्छ भनेर पत्र लेखेको नयाँपत्रिकामा खवर छ । 

प्रतिक्रिया दिनुहोस्