जुनियर युवा रेडक्रसको ४० औं राष्ट्रिय गोष्ठी सम्पन



गोरखा : हिजो (सोमबार) जुनियर युवा हाम्रो प्रतिबद्धता भन्ने नारासहित ४० औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रसको गोष्ठी सम्पन्न भएको छ ।

गोरखाको सदरमुकाममा आयोजित २ दिने औपचारिक कार्यक्रमपछि आज देशका विभिन्न स्थानबाट त्यहाँ पुगेका यूवाहरुले आन्तरिक पर्यटनलाई अभिबृद्धि गर्ने अभिप्रायले लखन थापा पार्क लगायतका विभिन्न ऐतिहासिक स्थानमा भ्रमण गर्ने भएका छन् ।

नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति मा.बिको आतिथ्यमा संचालित सो गोष्ठीमा ५९ जिल्लाका १९५ जना युवाहरुको सहभागिता रहेको थियो । जुनियर तथा युवा रेडक्रसको संगठनात्मक विकासलाई थप प्रभावकारी बनाउन समयमै सर्कल गठन तथा पुन : गठन गरी वर्षभरि विभिन्न कार्यक्रमहरू संचालन गर्ने र ती गतिविधिहरु संचालन गर्ने क्रममा स्थानीय स्तरमै स्रोत संकलन तथा परिचालनमा विशेष जोड दिने लगायतका महत्वपूर्ण प्रतिवद्धता र सहमतिहरुसहित १३ बुँदे गोरखा घोषणपत्र जारी गरिएको छ ।

सो घोषणा पत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट प्रर्वधीत “केन्द्रमा युवा नीति” तथा नेपाल रेडक्रस सोसाइटीको “युवा संलग्न नीति” लाई जोड दिँदै विश्वव्यापी रुपमा रहेका विभिन्न प्राकृतिक, सामाजिक र मानवीय मुद्दाका गतिविधिहरु नेपालमा संचालन गर्ने गराउने उल्लेख छ ।
देशभरिका जुनियर तथा युवा सर्कललाई विभिन्न प्राकृतिक र मानवीय मुद्दाहरुमा बहस पैरवी र क्षमता अभिवृद्धि गरी सबलीकरण अभियान संचालन गर्न यूवाहरुले प्रतिवद्धता जाहेर गरेका नेरेसो संचार निर्देशक दिव्यराज पौडेलले बताए ।

सडक सुरक्षा र प्राथमिक उपचार, विपद व्यवस्थापन र कृतिम घटना अभ्यास, नोवेल कोरोना भाइरस र सोको प्रभावबाट बच्ने उपायहरू, साइबर बुलिङ, रक्तदानमा युवाहरूको भूमिका जस्ता विषयमा भएको छलफल उत्कृष्ट रहेको र ती क्षेत्रमा युवाहरुको सचेतना अभियान बढाउन यूवाहरुले महत्वपूर्ण भूमिका खेल्ने जुनियर बिभाग निर्देशक सुदर्शन अधिकारीले अपेक्षा गरेका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिव जगन चापागाईंले अनलाइनबाट प्रत्यक्ष रूपमा सहभागीहरुलाई उत्प्रेरणा मुलुक प्रशिक्षण दिएका थिए । गोष्ठीमा विभिन्न विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुद्वारा सहभागीहरुलाई प्रशिक्षण पनि दिएको थियोे ।


आइतबार उद्घाटन भएको समारोहमा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरि प्रसाद न्यौपाने, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त केन्द्रीय जुनियर युवा रेडक्रस समिति सभापति सपूत बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, गोरखा नगरपालिका उपप्रमुख बिना श्रेष्ठ नेरेसो केन्द्रीय सदस्यहरु शशी पन्थीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्