सडक बनाउन चार घण्टा बन्द



धादिङ:  निर्माण सम्झौताको समय सकिएपछि ठेकेदार कम्पनीले सडक चौडा बनाउन दैनिक चार घण्टा सडक अवरुद्ध गर्ने सूचना प्रकाशित गरेको छ । धादिङबेंसी–आरुघाट सडकखण्डको गोलाभञ्ज्याङदेखि टारीबेंसीसम्मको सडक शनिबारबाट दैनिक चार घण्टा बन्द गरिएको हो ।

धादिङबेंसी आरुघाट सडकखण्डअन्तर्गत नीलकण्ठ नगरपालिका–१० गोलाभञ्ज्याङदेखि टारीबेंसीसम्म सडक चौडा गर्नका लागि दैनिक चार घण्टा बन्द गरिएको धादिङबेंसी–आरुघाट–गोरखा सडक आयोजना एवं लामा कन्सट्रक्सनले सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ ।

आजदेखि सुरु भएको सडक चौडा गर्ने काम २८ माघसम्म चल्नेछ । तबसम्म हरेक दिन मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द रहनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी १४ पुस २०७३ मा सडक निर्माण सम्झौता भएको थियो । निर्माणाधीन यस सडकखण्डमा ठेकेदार कम्पनीले काममा ढिलाइ गरेका कारण सडक अस्तव्यस्त बनेको छ ।

आगामी असार मसान्तसम्ममा काम सम्पन्न गर्ने कार्य पुनः सुरु गरिएको छ । सर्वसाधारणको सुविधाका लागि निर्माण भइरहेको सडक समयमै निर्माण हुन नसक्दा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदै आइरहेको छ । कुल ७० करोड ११ लाख ७३ हजारमा काम सम्पन्न गर्ने गरी लामा कन्स्ट्रक्सनले कालोपत्र गर्ने जिम्मेवारी लिएको थियो ।

सडकको निर्माण सम्पन्न भए जिल्लाको उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामान लैजान र त्यस क्षेत्रको कृषिउपज बिक्रीका लागि सदरमुकामसम्म ल्याउनसमेत सजिलो हुनेछ । यस सडकमा हालका दिनमा दैनिक ५ सयको हाराहारीमा सवारीसाधन सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्