‘साताको साहित्य पुरस्कार’ कवि प्यासीलाई (कवितासहित)



काठमाडौं: ‘साताको साहित्य पुरस्कार २०१८’ कवि नवीन प्यासीले पाउने भएका छन् । ‘साताको साहित्य डटकम’मा वर्षभरि प्रकाशित कवितामध्ये प्यासीको ‘आशीर्वाद’ कविता उत्कृष्ट हुन सफल भएपछि उनले उक्त पुरस्कार पाउने भएका हुन्   उक्त पुरस्कारका लागि प्यासी, बाबु त्रिपाठी र जीवन खत्रीका गरी तीन कविका कविता छनोटमा परेका थिए । तीमध्ये प्यासीको कविता उत्कृष्ट हुन सफल भएको हो ।

आशीर्वाद

-नविन प्यासी

आँसुले बाटो छेक्नुअगावै

गइहाल्नू, एकैछिन पनि नउभिनू

जाँदाजाँदै बाटाहरूमा

आदिवासी ढुंगाहरू भेटिन सक्छन्

जथाभावी नकुल्चनू

तीमध्ये कुनैकुनै देउराली हुन सक्छन्

जोसँग हिसाबकिताब हुनसक्छ

कसम खाएर पनि फर्की नआउनेहरूको,

पुरानो किल्लाबाट खसेका पर्खालका टुक्राहरू हुन सक्छन्

जो धेरै पहिले

दुश्मनका निधारमा बजारिएका थिए होलान्,

जोगाउँदै–जोगाउँदै जानू

जाँदाजाँदै बाटोहरूमा

खडेरीलाई छिचोलेर फुलेका फूलहरू हुन सक्छन्

नटिप्नू मन पर्‍यो भन्दैमा,

तीमध्ये कुनैकुनै भाइटीका कुरिरहेका सयपत्रीहरू हुन सक्छन्,

कठ्यांग्रिँरदो जाडो पार गरेर फुलेका

कसैको चुल्ठो कुरिरहेका गुराँसहरू हुन सक्छन्,

बरु मुस्कुराउँदै–मुस्कुराउँदै जानू

कुहिरो पठाएर मौसमले तिमीलाई छल गर्न सक्छ

नआत्तिनू रत्तिभर पनि,

अँध्यारो पठाएर समयले तिमीलाई छल गर्न सक्छ

नडराउनू रत्तिभर पनि,

बरु पर्खनू, भोलि बिहान उदाउने घामलाई

जसले तिमीलाई गन्तव्य देखाउने छ

जाँदाजाँदै बाटोहरूमा

तिमीले चढ्नै नसक्ने उकालीहरू आउन सक्छन्,

तिमीले तर्नै नसक्ने नदीहरू आउन सक्छन्,

हतास नहुनू, धैर्य गर्नू

उकालीहरूमा सिँढीहरू भेटिन सक्छन्,

नदीहरूमा डुंगाहरू भेटिन सक्छन्

जाँदाजाँदै धेरै टाढा पुगे पनि

आफूले छाडेर आएको बाटो नबिर्सनू

एक दिन

तिमी सपनाको सहर पुग्नेछौ

जहाँ मान्छेहरू मान्छेजस्ता हुने छैनन्,

स्वार्थको खरिदबिक्री बजारमा भेटिनेछन् आफ्नाहरू, आफन्तहरू

ईश्वरहरूको थुप्रै कंकालहरू भेट्नेछौ

जसले डरको व्यापार गरिरहन्छ निर्दाेष मस्तिष्कहरूमा

नवजात शिशुहरूलाई झाडीमा छाडेर हिँडेको

आमाहरू भेट्नेछौ,

नाबालिक छोरीका लागि ग्राहक खोज्दै हिँडेको

जँड्याहा बाहरू भेट्नेछौ

त्यति बेला हाम्रो याद आउन सक्छ तिमीलाई

यदि याद आयो भने

तिमीले क्यामेरामा बोकिलगेको हाम्रो हाँसो हेर्नू,

सहरमा त धर्मशालातिर मात्रै भेटिन्छन् रे बाआमा !

त्यता कतै धर्मशाला जानू, अलिकति मुस्कान बोकेर जानू

उनीहरूको आँखामा आँसु देखिन सक्छ,

देखियो भने यदि,

सम्झनू संवेदना अझै मरेको छैन

मानवता अझै मरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्