एक सुन्दरीका लागि सुल्तानले त्यागे राजगद्दी



एजेन्सी : मलेसियाका सुल्तान मोहम्मद पाँचौंले एक रुसी सुन्दरीका लागि राजगद्दी त्याग गरेका छन् । मलेसियाका ४९ वर्षीय राजा मोहम्मद रुसी सुन्दरीको प्रेममा थिए । 

सुल्तानले ती सुन्दरीसँग विवाह गर्न चाहेकाले राजगद्दी त्यागेको बताइएको छ । 

मलेसियाका सुल्तान मोहम्मदको १८ महिनाअघि मिस मस्कोको उपाधि जितेकी सुन्दरी ओक्साना भोइभोदिनसँग भेट भएको थियो । केही संचारमाध्यमले मोहम्मद र २५ वर्षीया सुन्दरी ओक्सानाबीच गोप्य रूपमा विवाह सम्पन्न भैसकेको बताइरहेका छन् । 

उनीहरूले मोहम्मदले राजगद्दी त्याग्नुको मुख्य कारण ओक्सानासँग विवाह गर्नु नै रहेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा मोहम्मद र ओक्सानाका केही अन्तरंग तस्बिर सार्वजनिक भएपछि सुल्तानले ती रुसी सुन्दरीसँग विवाह गरिसकेको कुरालाई बल मिलेको छ । 

मिस मस्कोको उपाधि पाएकी ओक्साना मोडल तथा फेसन डिजाइनर समेत हुन् । युरोपमा पहिलो पटक भेट भएपछि झाँगिएको सुल्तान र सुन्दरीको प्रेम विवाहमा परिणत हुनुअघि ओक्सानासमक्ष इस्लाम धर्म स्वीकार गर्नुपर्ने सर्त राखिएको थियो । ओक्सानाले उक्त सर्त स्वीकारेको बताइएको छ । 

विवाहको प्रसंग चल्नुअघि सोसल मिडियामा निकै सक्रिय ओक्साना राजपरिवारसँग जोडिने भएपछि सामाजिक सञ्जालहरूमा समेत देखापर्न छाडेकी थिइन् । 

ब्रिटेनको उपनिवेशबाट सन् १९५७ मा स्वतन्त्र भएपछि मुस्लिम बाहुल्य मलेसियामा शाही परिवारका सदस्यहरू मात्र सुल्तान हुन पाउने नियम छ । यो नियमअनुसार त्यहाँका सुल्तानको पदाबधि ५ वर्षको हुन्छ । 

मोहम्मद पाँचौंले १५ औं सुल्तानका रूपमा सन् २०१६ मा राज्याभिषेक गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्