‘समर लभ’ को टोली पूर्वमा



विराटनगर : सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को टोली अहिले पूर्व दौडाहामा छ । 

सोही क्रममा आइतबार चलचित्रको टोली इटहरी आइपुगेको हो । टोलीले चलचित्र धेरै राम्रो बनेको दाबी गरेको छ । चलचित्र विशेष गरेर युवकयुवतीलाई केन्द्रित गरी निर्माण गरिएको निर्मात्री इन्दु भण्डारीले बताइन ।

 

नेपालका साथै मलेसिया, नर्वे, सिङ्गापुर लगायतका स्थानमा छायांकन गरिएको यो चलचित्र ‘नाई नभन्नु ल ३’ निर्देशन गरेका मुस्कान ढकालको निर्देशनमा बनेको हो । 

‘समर लभ’ आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो भने यही उपन्यासका आधारमा बनेको चलचित्रका पात्र पनि अतित र शाया नै छन् । अतीतको भूमिकामा आशिष पिया र शायाको भूमिकामा रेवती क्षेत्रीले अभिनय गरेका छन् ।

 

नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रको कार्यकारी निर्माता विनोद अधिकारी तथा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता हुन् । 

 

चलचित्रमा आशिष, रेवतीसँगै सुरजसिंह ठकुरी, नम्रता सापकोटालगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा सरोज खनाल, शिशिर भण्डारी, ओम प्रतीक, मानसविक्रम थापालगायतका कलाकारको पनि अभिनय छ । यो चलचित्र माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्