पर्यावरण संरक्षण र पूर्वपश्चिम राजमार्ग सरसफाईमा जुटे युवाहरु



जनकपुरधाम : सर्लाहीका उत्साहित युवाहरुले पूर्व-पश्चिम राजमार्ग सरसफाई गर्न अभियान थालेका छन् । सर्लाहीको लालबन्दी नगरपालिकाको राजमार्ग क्षेत्र सफाई गर्दै सरसफाई अभियान थालनी गरेका हुन् ।

 

सिरहाका सरसफाई अभियन्ता धिरेन्द्रकुमार साहको सक्रियातामा दर्जनौं युवाहरु हातमा पञ्जा लगाएर सडक किनारका फोहोरहरु संकलन गरेर व्यवस्थानमा जुटेका छन् ।

 

निजी तथा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुले पानीका बोतल, चाउचाउ, कुरकुरे, गुट्का खाएर त्यसका खोलहरु गाडीबाटै राजमार्ग किनारमा फाल्दा राजमार्गको लोभलाग्दा स्थानहरु कुरुप बनेपछि युवाहरु सरसफाईमा जुटेका हुन् ।

 

तराईका राजमार्ग क्षेत्रको अधिकांश भू-भागहरु जंगली क्षेत्रमै पर्दछन् । जंगली क्षेत्र सुनसान भएकोले यात्रुहरुले गाडीबाट सिधै जंगल क्षेत्रको सुन्दर तथा रमणिय सडक किनारमा फोहोर फाल्ने गरेको पाइएको छ ।

 

प्रदेश नं. २ सरकारले तराई-मधेश भ्रमण गरौं भन्ने पर्यटन अभियान पनि थालेको छ । राजमार्ग सरसफाई अभियानले प्रदेश सरकारको पर्यटन प्रवर्द्धन अभियानमा पनि सहयोग पुग्ने र राजमार्गको जंगली क्षेत्र पनि सुन्दर हुने सरसफाईमा खटिएका युवाहरुले जनाएका छन् ।

 

सरसफाई अभियानमा जनज्योति माध्यमिक विद्यालयका बालबालिका, नेपाल प्रहरी, लक्ष्मी खरेल, ललिता कुमारी खड़का, गीता बिक, देवी कार्की लगायतका समाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्