एनएमएले उठायो १२ करोड रोयल्टी



काठमाडौं : आर्थिक वर्ष २०७६-७७ मा २४ हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट नेपाल पर्वतारोहण संघ (एनएमए) ले १२ करोड ५१ लाख ८० हजार रोयल्टी उठाएको छ ।

नेपाल सरकारले अनुमति दिएका ५ हजार ८०० देखि ६ हजार ५०० मिटरसम्म उचाइ भएका २७ पिकमध्येमा गत वर्ष २४ पिक आरोहणबाट उक्त रकम संकलन भएको जनाइएको छ ।

संघका अध्यक्ष सन्तवीर लामाका अनुसार सरकारले एनएमएलाई २७ पिकको प्रवद्र्धन तथा आरोहण अनुमतिको जिम्मा दिएको छ । जिम्मा दिएका मध्येमा गत वर्ष २४ पिक आरोहणका लागि १ हजार ७३३ समूहका छ हजार ५५५ जनाले अनुमति लिएका थिए । अनुमति लिने मध्येमा १०२ नेपाली रहेका एनएमएले जनाएको छ ।

सरकारले नियम अनुसार उठेको रोयल्टी रकममध्येबाट २५ प्रतिशत प्रदेश सरकार, २५ प्रतिशत स्थानीय तह र ५ प्रतिशत नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति (माउन्टेन एकेडेमी) मा जम्मा गर्नुपर्ने हुन्छ । गत आवको रोयल्टी रकम संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्वतारोहण रोयल्टी खातामा जम्मा गरेको जनाएको छ ।

जम्मा उठेको रकममध्येबाट संघले ३ शीर्षकमा ६ करोड ८८ लाख ४९ हजार जम्मा गरेको हो । उनका अनुसार सम्बन्धित प्रदेश सरकारको कोष र स्थानीय तहको कोषमा छुट्टाछुट्टै ३ करोड १२ लाख ९५ हजार तथा माउन्टेन एकेडेमीका नाममा ६२ लाख ५९ हजार रोयल्टी रकम जम्मा गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नियमअनुसार रोयल्टी रकम भुक्तानी प्रक्रियामा अस्पष्ट हुँदा भुक्तानीमा केही ढिला भएको संघका महासचिव एवं सूचना अधिकारी कुलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार संघले २७ पिकमध्ये समूह ‘क’ मा १२ र समूह ‘ख’ मा १५ पिक गरी दुई भागमा विभागजन गरेको छ ।

शुरुआती चरणमा १२ पिकको अनुमति दिएको सरकारले वि.सं.२०७४ साउन १० गते १५ पिक थप गरेर २७ पिकको जिम्मा दिएको थियो । एनएमएले २०७६ साल असोज १३ गते सरकारलाई थप ५ हजार ८०० उचाइदेखि ६ हजार ५०० मिटर उचाइसम्मका १७६ पिकको व्यवस्थापनाको जिम्मा दिन आग्रहसमेत गरेको थियो । संघका अध्यक्ष लामाका अनुसार नेपाल पर्वतारोहण संघ (एनएमए) ले हाल आरोहण गरिँदै आएका तथा पहिचान भएर पनि आरोहण नगरिएका ४१४ हिमशृङ्खला तथा चुचुरा (पिक)को विस्तृत जानकारीसहित ‘पिक प्रोफाइल’ तयार पारेको छ ।

हालसम्म आरोहणका लागि उपयुक्त मानिएका ४१४ चुचुराबारे व्यवस्थित रूपमा एउटै वेबसाइट पोर्टलबाट जानकारी उपलब्ध गराउने उद्देश्यले पिक प्रोफाइल तयार गरिएको हो । उनका अनुसार नेपालको साहसिक पर्यटन प्याकेजका रूपमा रहेका नेपालका हिमशृङ्खला तथा पर्वतका विषयमा व्यवस्थित रूपमा प्रोफाइल पहिलो पटक तयार पारिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्