हेटौंडा उपमहानगरपालिकामा ६२ उद्योग दर्ता



हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले नेपालमै पहिलो पटक उद्योग प्रतिष्ठान स्थानीय निकायमा दर्ता भएको जनाएको छ ।

उपमहानगरपालिकामा औद्योगिक क्षेत्रमा रहेका ६२ उद्योग प्रतिष्ठानमा दर्ता भएका छन् । प्रचलित कानून तथा आर्थिक ऐन २०७६ बमोजिम औद्योगिक क्षेत्रका उद्योग स्थानीय तहमा दर्ता भएका हुन् ।

वि.सं.२०७४ वैशाख ३१ गते उपमहानगरपालिकाले नयाँ नेतृत्व पाएसँगै राजश्व वृद्धि गर्ने खालका विभिन्न निर्णय अन्तर्गत उद्योग प्रतिष्ठान उपमहानगरपालिकामा दर्ता गराइएको जनाइएको छ ।

करको दर वृद्धि गर्नुभन्दा करको दायरा फराकिलो बनाउने अभियानमा उपमहानगरपालिकाको प्रयास रहेको बताइएको छ । उपमहानगरपालिकाले अनुमान गरेको वार्षिक आन्तरिक आय गत वर्षको पहिलो चौमासिकमै वार्षिक लक्ष्य पूरा भएको बताएको छ ।

यद्यपि दरको सट्टा दायरा बढाउने निर्णय भए पनि दरसमेत बढेको भने सेवाग्राहीको गुनासो छ । नगरपालिकाको राजश्व अभिवृद्धि गर्ने तथा करको दायरा फराकिलो पार्ने कार्यक्रमअन्तर्गत औद्योगिक प्रतिष्ठान दर्ता हुन आएको नगरप्रमुख हरिबहादुर महतले बताए । उनका अनुसार नेपालमै यो पहिलो अभ्यास हो । उनले भने, “हामीले पहिलोपटक स्थानीय सरकारसँग सहकार्यको थालनी गरेका हौँ, हेटौँडामा औद्योगिक प्रतिष्ठान सञ्चालन गर्ने, यहाँको वातावरण प्रदूषण गर्ने तर स्थानीय सरकारलाई कर नतिर्ने जायज थिएन ।”

उनले उपमहानगरपालिकाको यो निर्णयले करको दर बढाउन नपर्ने भएको बताए । उद्योगीलाई असर नपर्ने गरी व्यवसाय कर तिर्न उद्योगी सहमत भएका उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले बताए । उनका अनुसार उपमहानगरपालिकामा दर्ता भएका उद्योगले अब उपमहानगरपालिकालाई वार्षिक रु चार हजार व्यवसाय कर तिर्नुपर्ने छ । बहुराष्ट्रिय कम्पनीहरुले भने वार्षिक २० हजार तिर्नुपर्नेछ ।

उनका अनुसार हेटौँडा औद्योगिक क्षेत्रमा विगत ५ दशकदेखि संचालन भइरहेका औद्योगिक प्रतिष्ठान हालसम्म नगरपालिकामा दर्ता भएका थिएनन् । हेटौंडाको मयूरधापमा निर्माणधीन औद्योगिक क्षेत्रमा पनि औद्याोगिक प्रतिष्ठान स्थापना भएर संचालनमा आए ।

उपमहानगरपालिकाको आय स्रोत अझै बढ्ने बताइएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा सानाठूला गरी एक सयभन्दा बढी उद्योग संचालनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्