दीगो विकास लक्ष्य सम्बन्धी वहुपक्षीय संवाद हुँदै



जनकपुरधाम : ओरेक नेपाल धनुषा तथा युथ नेट्वर्क सोसाइटी जनकपुरधामको आयोजनामा भोली (शनिबार) दीगो विकास लक्ष्य सम्बन्धी वहुपक्षीय संवाद कार्यक्रम हुने भएको छ ।

बहुपक्षिय संवाद कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला संघ संस्था तथा नागरिक संगठनका अगुवाहरुबाट राज्यको परिवर्तित संरचनामा गैरसरकारी संस्थाहरुको व्यवस्थापन, नियमन तथा समन्वयमा के-कस्ता संरचनागत र नीतिगत व्यवस्था हुनुपर्छ भन्ने विषयमा छलफल केन्द्रित रहने युथ एड्भोकेसी नेपाल प्रदेश २ का कार्यक्रम संयोजक दिवाकर उप्रेतीले बताए ।

सन २०१५ सेप्टेम्बर २५ का दिन संयुक्त राष्ट्रसंघको साधारणसभाले सन २०१६ देखी २०३० सम्मका लागि दीगो विकास लक्ष्य तय गरिएको थियो । यो विश्वव्यापी अभियानमा नेपाल सुरुदेखी नै सक्रिय सहभागी रहेको छ । दीगो विकास लक्ष्यलाई स्थानीयकरण गर्नका लागि केन्द्र सरकारले आफ्नो नीति, कार्यक्रम तथा वजेटमा प्रयास गरेको उनले बताए ।

प्रदेश तथा स्थानिय सरकारले पनि आफ्ना नीति, कार्यक्रम तथा वजेटमा दीगो विकास लक्ष्यलाई स्थानियकरणको प्रयास सुरु गरेका छन् । दीगो विकासको कार्यान्वयनको प्रगती तथा यसका चुनौतीहरुको विषयमा खाका अनुसार प्रत्येक देशले ‘भोलेन्टरी नेसनल रिभ्यु (भिनार)’ गरी संयुक्त राष्ट्रसंघमा आयोजना गरिने उच्च स्तरिय राजनीतिक मंचमा प्रस्तुत गर्दछ । सोही अनुरुप नेपालले पनि सन् २०१७ मा भिनार प्रस्तुत गरेको थियो ।

आगामी सन् २०२० जुलाई ९ देखी १६ सम्म आयोजना हुने उच्च स्तरिय राजनीतिक मंचमा समेत नेपालले भिनार प्रस्तुत गर्ने उप्रेतीले बताए । नेपाल सरकारको भिनार सम्बन्धी प्रयासलाई योगदान गर्ने उद्देश्यले युथ एड्भोकेसी नेपालद्वारा विभिन्न संघ संस्थासँगको सहकार्यमा ७ वटै प्रदेशमा वहुपक्षिय संवाद, फोकस गु्रप डिस्कसन लगायतका कार्यक्रमहरु आयोजना गरिने छ ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख अतिथ्यमा आयोजना हुने सो कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्