मेलम्चीको ठेक्का तोड्न प्रक्रिया सुरु



काठमाडौं: सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी (सीएमसी)सँग ठेक्का तोड्ने प्रक्रिया थालेको छ । ठेकेदार कम्पनी सीएमसीसँग सरकारले ठेक्का तोड्ने तयारी थालेपछि लामो समयदेखि पानीको पर्खाइमा बसेका काठमाडौंवासीले तत्काल पानी नपाउने पक्का भएको छ । आयोजनाबारे छलफल गर्न सरकारले ठेकेदार कम्पनी सीएमसीलाई आउन समय दिएको थियो तर सो समयसम्म सीएमसी नआएपछि सरकारले ठेक्का तोड्न लागेको हो ।

आयोजना इन्जिनियर राजेन्द्रप्रसाद पन्तले भने, ‘सीएमसीसँग ठेक्का तोड्ने पक्का भएको छ ।’ यसबारे सरकारले प्रक्रिया समेत सुरु गरेको छ । ‘सीएमसी नआउने पक्का भएको छ,आउने, नआउने निधो छैन ।’ पन्तले भने । तर, सरकारले पुनः १४ दिनको म्याद थपेको छ । सो अवधिसम्म नआए ठेक्का तोडिने आयोजनाको भनाइ छ । यसअघि सीएमसीले वित्तीय संकटमा भएको भन्दै आयोजनाको काम छाडेको थियो । काम अलपत्र पारेर हिँडेपछि सरकारले प्रहरी लगाएर सीएमसीका आठ जनालाई पक्राउ गरेको थियो ।

अंग्रेजी नयाँ वर्ष नजिकिएकाले नयाँ वर्ष मनाएर फकिर्ने सीएसीले प्रतिबद्धता व्यक्त गरेको थियो भने पहिले काम छाड्ने घोषणा पनि फिर्ता लिएको थियो । तर, सरकारले तोकेको समयसम्म पनि सीएमसी नआएपछि ठेक्का तोड्न सरकार बाध्य भएको आयोजनाको भनाइ छ । सीएमसीले आयोजनाका कामबारे छलफल गर्न प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउओ पोर्सेली नेतृत्वको टोली पठाउने वचन पनि दिएको थियो ।

तर, सो टोली अझै नआएपछि सरकारले ठेक्का तोड्न लागेको हो । सरकारले पटकपटक सीएमसीलाई काममा आउन आग्रह गर्दा गर्दा पनि आफ्ना अन्य माग थप्दै जाने तथा कामका विषयमा सहमति गर्ने पक्षमा नरहेपछि सरकारले ठेक्का तोड्ने भएको हो । अहिले आयोजनामा पूर्ण रूपमा काम प्रभावित भएको भएको छ । काम कहिलेदेखि सुरु हुने भन्ने यकिन छैन ।

यसअघि आयोजनाको काम बीचमै अलपत्र पारेर भागेको भन्दै कम्पनीको धरौटी रकम रोक्न उच्च अदालतले आदेश दिएको थियो । सो ठेकेदार कम्पनीको इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको करिब ३ खर्ब रुपैयाँ रोक्का गर्न सरकारले सम्बन्धित बैंकलाई पत्रचार गरेको गरेको थियो । मेलम्चीको पानी काठमाडौंमा आउने सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको थियो । यस्तो अवस्थामा ठेकेदार कम्पनीसँग ठेक्का तोडिएपछि काठमाडौंवासीले तत्काल पानी नपाउने पक्का भएको राजधानीमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्