अभिभावक नफर्किंदा परीक्षा प्रभावित



बलेवा : चिसो छल्न बेंसी झरेका अभिभावक हिमपातका कारण लेक फर्किन समय लाग्ने भएपछि यहाँका विद्यार्थीको वार्षिक परीक्षा नै प्रभावित हुने खतरा बढेको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङका विद्यार्थीको परीक्षा पछिल्लो पटक भएको हिमपातले प्रभावित हुने खतरा बढेको हो । हिउँदमा बेंसी झर्ने र बर्खामा लेक (घर) फर्कने बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ माथिल्लो क्षेत्रका स्थानीयको वार्षिक तालिका नै हो ।

सोहीअनुसार फागुनको तेस्रो साता शुरु हुँदा बेंसी झरेका बोवाङवासी लेक फर्केका छैनन् । चिसो बढेपछि स्थानीयवासी पशुचौपया लिएर बेंसी झर्छन् । हिउँदेबाली बेंसीमै लगाउन छन् । गर्मी महिनाको शुरुआतसँगै साविक बोवाङ गाविस वडा नं ६, ७, ८ र ९ का स्थानीय पुनःबर्खे खेती लगाउन लेक जान्छन् ।

जाडोको समयमा अभिभावक बेंसी झरे विद्यालय उमेर समूहका बालबालिका भने अध्ययनका लागि जाडो खेपेरै भए घरमा बस्न बाध्य हुन्छन् । यही साता परेको बाक्लो हिउँले ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति आधारभूत विद्यालयको पठनपाठन प्रभावित छ । बस्तीदेखि विद्यालयसम्म डेढ फिटसम्म बाक्लो हिउँ जमेका कारण बालबालिका विद्यालय आउन सकेका छैनन् । “चिसोमा आफैं पकाएर खाने विद्यार्थी विद्यालय आउन सकेका छैनन्”, ज्योति आधारभूत विद्यालयका प्रधानध्यापक टकबहादुर अदैले भने, “अभिभावक साथमा नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।”

प्रधानध्यापक अदैका अनुसार बाक्लो हिउँका कारण अभिभावक घर फर्कंन सकेका छैनन् । अभिभावक घर नआउँदा सानासाना विद्यार्थी फागुन २७ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी नहुने खतरा बढेको प्रधानाध्यापक अदैको भनाइ छ । “यो जाडोमा विद्यार्थीलाई खाना पकाएर खान मुश्किल छ कसरी विद्यालय आउन सक्छन्”, उनले भने, “सम्पर्क भएका अभिभावकलाई घर फर्कन अनुरोध गरेका छौँ, कति सफल हुन्छ हेर्न बाँकी छ ।”

फागुन महिनामा मात्रै ढोरपाटनमा तीनपटक हिमपात भएको छ । विद्यालयले पुस १५ गतेदेखि फागुन ३ गतेसम्म वर्षे बिदा दिएको थियो । अन्य विद्यालयले वर्षे बिदा दिँदा सो विद्यालयले भने जाडो बिदा दिँदै आएको छ । जाडोयाम शुरु भएसँगै त्यहाँका स्थानीय जाडो छल्न बोबाङ, अधिकारीचौरलगायतका स्थानमा घुम्ती बसाइँ सर्ने गर्दछन् । बाक्लो परेको हिउँ पग्लिन समय लाग्ने भएकाले विद्यालयले लिने वार्षिक परीक्षा शुरु हुनेबेलासम्म हिउँ पग्लिने सम्भावना कम छ । अभिभावक गाउँ नफर्केसम्म विद्यार्थी नियमित विद्यालय पुग्ने सम्भावनासमेत कम रहेको प्रधानाध्यापक अदै बताउछन ।

पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियान शुरु

बागलुङलाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियान थालिएको छ । सुआहारा परियोजना र बागलुङ नगरपालिकाले यो अभियान थालेका छन् । खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माणका लागि प्रारम्भिक कार्यशालामार्फत दीर्घकालीन योजना निर्माणमा सहकार्य थालिएको हो ।

अभियानमा प्रत्येक घरमा शौचालय, सङ्घसंस्थामा शौचालय र खुला दिशामुक्त बनाउनुका साथै घरघरमा साबुन पानीले हात धुने व्यवस्था गरिनेछ । घरघरमा भाडा धुने छुट्टै र सुकाउने स्थान, शौचालय गएर आएपछि साबुनपानीले हात धुने व्यवस्थालगायतका सूचक पूरा गरेको बनाउने छलफल भएको सुआहारा परियोजनाकी खानेपानी तथा स्वच्छता अधिकृत टीका उप्रेतीले बताए ।

‘हरेक बार, खाना चार’ भन्ने नारासहित आमा र बच्चाको स्वास्थ्यमा सुधार गर्ने कार्यक्रम चलाएको सुआहाराले मानव विकास सूचक वृद्धि गर्न सरसफाइका सबै संरचना निर्माणमा पनि नगरपालिकालाई उत्तरदायी बनाउन लागेको हो । चर्पी सफा बनाउने र पानीको व्यवस्थापन गर्दा हरेक घरको प्रतिष्ठा बढ्ने सन्देश प्रवाह गरिँदै आएको छ । नेपाल भ्रमण वर्ष सफल पार्न र गाउँगाउँमा पर्यटक लैजान हरेक घर सफा, शौचालय भएको, साबुन पानीले हातधुने बानी र उचित स्थानको व्यवस्थासमेत भएको बनाउन नगरपालिकालाई आग्रह गरिएको थियो ।

नगरप्रमुख जनकराज पौडेलले पूर्ण सरसफाइको अभियानमा नगरपालिकाले साथ दिने बताए । उनले सार्वजनिक शौचालय बनाएर व्यवस्थापन गर्ने चुनौती पूरा गर्ने र घरघरले फोहरको व्यवस्थापन गर्ने अवस्था सिर्जना गर्न लागेका बताए । उनले नगरपालिकाले व्यवस्थित ढल निकासको कार्यक्रमसमेत ल्याएकाले बागलुङ नगर सरसफाइमा अब्बल बन्ने विश्वास व्यक्त गरे ।

नगरपालिकामा प-र्याप्त खानेपानी र सरसफाइका लागि पानीको व्यवस्थापन गर्न पनि लागिएका हो । नगरपालिकाले धुवाँमुक्त, पूर्ण खोपयुक्तलगायतका सूचक पूरा गरिसकेको बताए । जिल्लाका सबै वडालाई पूर्ण सरसफाइ बनाउने र आगामी २०३० सम्ममा सबैका लागि सधैँका लागि सरसफाइ भएको देश बनाउने अभियान पूरा गर्नेसमेत बताइएको छ । त्यसका लागि हरेक वडातहमा खानेपानी तथा स्वच्छता समिति गठन गरेर सरसफाइको पूर्ण स्वामित्व लिने व्यवस्थापन गर्न लागिएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक चिरञ्जीवी दाहालले बताए । रासस

प्रतिक्रिया दिनुहोस्