चरेससहित दुई पक्राउ



कपिलवस्तु : जिल्लाको तौलिहवामा ग्यालेन खोल्दा चरेस फेला परेको छ । तौलिहवाको व्यस्त रहने बहादुरगन्ज चोकमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चरेस फेला पारेको हो । 

प्रहरीले चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरूले ४ वटा ग्यालेनमा चरेस ओसारपसार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवि रावलले बताए । 

पक्राउ पर्नेमा भारत मोतीहारी जिल्ला पूर्वी चम्पारण थाना रक्सौल ग्राम परेउवाका ३२ वर्षीय ताहिर अली र सोही स्थानका ३२ वर्षीय मोहम्मद आलम रहेको कपिलवस्तु प्रहरीले जनाएको छ । आइतबार  बेलुका  ६ बजे  जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरिएको हो । 

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूलाई कपिलवस्तु नगरपालिका–१ बहादुरगन्ज जाने चोक तौलिहवाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुईजनालाई जिल्ला अदालतबाट पाँच दिनका लागि थप अनुसन्धान गर्न म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको थुनामा राखिएको रावलले बताए ।

बरामद गरिएको चरेसको बजारमूल्य १२ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । चरेस ओसारपसार गर्नेहरूका पछाडि अन्य व्यक्तिसमेत हुन सक्ने अनुमान गर्दै प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्