पत्रकारमा पेशागत दक्षता आवश्यक छ : रक्षामन्त्री पोखरेल



काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारमा पेशागत दक्षता आवश्यक रहेको बताएका छन् ।

प्रेस संगठन प्रदेश नं.१ ले आज आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा उनले पत्रकारले पार्टीको काम र पत्रकारिता पेशालाई बराबरीरूपमा अगाडि बढाउनुपर्ने बताए ।

सरकार परिवर्तन भएको मात्र नभएर प्रणाली नै परिवर्तन भएकाले सरकारले निर्माणको कामलाई अघि बढाएको बताए । उनले भने,“कृषिलाई व्यावसायीकरण र आधुनिकीकरण गर्ने काम गरेका छौँ, औद्योगिक क्षेत्रको निर्माणलाई प्रोत्साहन र ऊर्जा विकासको काम प्रारम्भ गरेका छौँ, हामी विकासका लागि योजनाबद्धरूपमा अघि बढिरहेका छौँ ।” सरकारले पनि पार्टीको घोषित नीति र घोषणापत्रको कार्यान्वयनमा पहल गर्ने हो भन्दै उनले एउटा एउटाको पछि लागेर सरकारले कुरा गर्न थाल्यो भने भद्रगोलको स्थिति हुनेछ भने ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यले जनतालाई सही सूचना पुर्याउने काममा पत्रकारले जोड दिनुपर्ने बताए । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले उल्लेख्य काम गरेको बताए ।

कार्यक्रममा नेकपा प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रेस संगठन केन्द्रीय अध्यक्ष महेश्वर दाहाल, प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, इटहरी उपमहानगरपालिकाका प्रमुुख द्वारिकलाल चौधरी तथा नेपाल पत्रकार महासंघ प्रदेश नं.१ का अध्यक्ष विक्रम लुइँटेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रेस संगठन प्रदेश नं.१ का संयोजक राजन केडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले ७ बुँदे इटहरी घोषणापत्र जारी गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्