वामदेवको गुनासो : अच्युतकृष्णले मेरो चरित्र हत्या गर्न खोजे



काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । 

 

आफ्नै निवासमा सोमबार पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री गौतमले खरेलले प्रकाशन गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत २० लाखको आफूले प्रस्ताव पठाउँदा खरेलले अस्वीकार गरेको भन्ने झटो कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताए ।

 

'खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर २० लाख रुपैयाँ प्रस्ताव गरेँ ? २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? त्यो खरेलले पुष्टि गर्नुपर्दछ', उनले भने, 'आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झूटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने ?' 

 

नेता गौतमले खरेलले आइजीपीबाट आफूलाई हटाइएको बदला आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको जिकिर गरे । खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको उल्लेख गर्दै नेता गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाइएको स्पष्ट पारे । 

प्रतिक्रिया दिनुहोस्