घेराबन्दीमा परेपछि वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न ओली सहमत



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सहमत भएका छन् ।

आइतबार ओली गत बुधबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम राष्ट्रिय सभा सदस्यमा गौतमलाई सरकारका तर्फबाट सिफारिस गर्न तयार भएका हुन् ।

गत बुधबार बसेको सचिवालय बैठकले फागुन २० पछि रिक्त हुने एक राष्ट्रिय सभा सदस्यमा गौतमलाई सरकारका तर्फबाट सिफारिस गर्ने सल्लाह गरेको थियो ।

आइतबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गर्नेछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सो पदमा हाल अर्थमन्त्री समेत रहेका युवराज खतिवडा छन् । खतिवडाको २ बर्षे कार्यकाल फागुन २० गते सकिँदैछ ।

बुधबारको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउन पार्टीका तर्फबाट सरकारलाई सिफारिस गर्न अग्रह गर्ने निर्णय गरेको थियो ।

तर, सचिवालयले गरेको उक्त निर्णयप्रति २ घण्टा नवित्दै ओलीले गौतमको नाम सिफारिस नगर्ने भन्दै युवराज खतिवडालाई नै निरन्तरता दिने मनसाय व्यक्त गरेका थिए ।

ओलीको उक्त आशयपछि नेकपामा पक्ष र विपक्षमा विभिन्न आरोप प्रत्यारोप नै चल्न सुरु भएको थियो ।

त्यसक्रममा गौतमको पक्षमा सचिवालयका ७ सदस्य एकातिर र ओलीसहित ईश्वर पोखरेल अर्कातिर अर्थात युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्नेमा विभाजित बनेका थिए ।

तर सचिवालयको सर्वसम्मत निर्णय नमाने ओलीविरुद्ध पार्टीले कडा कदमसमेत चाल्न सक्ने निष्कर्षमा ओलीइतरका नेताहरु पुगेपछि ओली अन्ततः गौतमलाई स्विकार्ने पक्षमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्