दरबन्दी नुवाकोटमा, काम काठमाडौंमा



नुवाकोट : गाइनोलोजिस्ट डा. जस्मिन श्रेष्ठ, बालरोग विशेषज्ञ डा. मधुसूदन कायस्थ र जनरल फिजिसियन डा. नियन्तादेवी कार्की । तीनै जनाको दरबन्दी जिल्ला अस्पताल नुवाकोट हो । तर एक जना पनि अस्पतालमा छैनन् ।

तीनै जना काजमा काठमाडौंमा छन् । जिल्ला अस्पताल त्रिशूलीमा धाउने बिरामी भने उपचार नपाएर छटपटीमा छन् ।

श्रेष्ठ परिवार नियोजन क्षेत्रपाटी, कायस्थ कान्तिबाल अस्पताल महाराजगंज र कार्की वीर अस्पतालमा काजमा छन् । बिरामीको चापले २५ बेडको अस्पताल बढाएर ३७ बेडसम्म बिरामी राखिएको त्रिशूली अस्पताल विकास समितिले जनाएको छ । 

‘डाक्टरलाई फर्काइदिन संघीय र प्रदेश मन्त्रालय कैयौं पल्ट धाइसकें,’ अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेल भने, ‘काज गएका फिर्ता भएनन् । नयाँ आएनन् । धाएको धायै छु ।’

तीन जिल्लाबाट बिरामी आउने त्रिशूली अस्पतालमा विशेषज्ञ चिकित्सक नआउँदा बिरामी अन्यत्र जान बाध्य छन् । अस्पतालमा दैनिक नुवाकोट, रसुवा र धादिङका बिरामी उपचारका लागि आउने गरेका छन् । जनरल, ओपीडी गरी दैनिक डेढ सयदेखि २ सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

चिकित्सक नभएपछि अस्पतालले गम्भीर बिरामीहरू धमाधम काठमाडौं रिफर गर्न थालेको छ । ‘विशेषज्ञ डाक्टर नहुँदा साह्रै सास्ती पाइयो,’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट देवकी खतिवडाले भनिन्, ‘गम्भीर बिरामी हामीले सक्ने जति उपचार गरेर रिफर गरेर पठाउनुबाहेक अर्को विकल्प छैन ।’ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट गरी १७ जना स्थायी मेडिकल चिकित्सकको दरबन्दी छ ।

स्थायी चिकित्सक अभावले जेनतेन ओपीडीको टिकट, ल्याब, बेड चार्जलगायतबाट उठेको रकमबाट सेवा प्रवाह गरेको समितिले जनाएको छ । अस्पतालमा लेखापाल र सहलेखापालसमेत छैनन् । जिल्ला अस्पतालले चिकित्सक माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक विशेषज्ञ चिकित्सक पठाइदिन पत्र पठाइसकेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्