मेलम्ची खानेपानी आयोजनाद्वारा दातासँग छलफल



काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको काम अब नयाँ ढंगबाट अगाढी बढ्ने भएको छ । इटालियन कम्पनी सीएमसीसँगको ठेक्का तोड्ने प्रक्रिया सुरु भएपछि बाँकी कामका विषयमा मेलमम्ची आयोजनाले दात्री निकाय एसियाली विकास बैंक (एडबी)सँग छलफल थालेको हो ।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने, ‘आयोजनाको बाँकी काम कसरी अगाडि बढाउने भन्नेबारे एडीबीसँग छलफल भएको हो ।’ दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा काममा ढिलाइ हुने हुँदा कसरी अगाडि बढ्ने भन्ने विषयमा छललफल केन्द्रित रहेको कार्यकारी निर्देशक कँडेलको भनाइ छ ।

आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौंको सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङ मार्गमध्ये ४१० मिटरको अन्तिम फिनिसिङ हुन बाँकी रहेको आयोजनाले जनाएको छ । जसमा सुरुङभित्रको हावा जान बनाउन लागिएका तीन ‘भ्यान्टिलेसन’मध्ये अहिलेसम्म एउटा मात्रै बनेको छ । बाँकी दुईवटा बन्न बाँकी रहेको छ । त्यसैगरी, ८८५ मिटर सुरुङमा ढलान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

त्यस्तै, सुन्दरीजलबाट सिन्धुको बीच र सिन्धुबाट ग्याल्थुमबीचको ‘भ्यान्टिलेसन’ ड्रिल गर्न बाँकी छ । सुन्दरीजलको सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी लान जीआई पाइप राख्ने काम पनि बाँकी रहेको आयोजनाको भनाइ छ । ती अधुरा काम कसरी सक्ने भन्ने विषयमा दातासँग छलफल भएको कार्यकारी निर्देशक कँडेलले बताए ।

सरकारले आइतबार इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोड्ने प्रक्रिया सुरु गरेकोे छ भने सो कम्पनी आउन बाटो पनि खुला राखेको छ । सरकारले सो कम्पनी आउन १४ दिन समय थपिएको छ । सो समयसम्म पनि सीएमसी नआए यही १९ माघपछि आयोजनाको काम सुरु गर्न अर्को प्रक्रिया सुरु गरिनेछ । यसअघि सीएमसीले वित्तीय संकटमा भएको भन्दै आयोजनाको काम छाडेको थियो । काम अलपत्र पारेर हिँडेपछि सरकारले प्रहरी लगाएर सीएमसीका आठ जनालाई पक्राउ गरेको थियो ।

अंग्रेजी नयाँ वर्ष नजिकिएकाले नयाँ वर्ष मनाएर फर्किने सीएमसीले प्रतिबद्धता व्यक्त गरेको थियो भने पहिले काम छाड्ने घोषणा पनि फिर्ता लिएको थियो । तर, सरकारले तोकेको समयसम्म पनि सीएमसी नआएपछि ठेक्का तोड्न सरकार बाध्य भएको थियो । सीएमसीले आयोजनाका कामबारे छलफल गर्न प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउओ पोर्सेली नेतृत्वको टोली पठाउने वचन पनि दिएको थियो । तर, सो टोली अझै नआएपछि सरकारले ठेक्का तोड्ने प्रक्रिया सुरु भएको थियो ।

त्यस्तै, सीएमसीले जिम्मा लिएका अन्य दुई सोलु–दूधकोसी जलविद्युत् आयोजना र तनहुँ जलविद्युत् आयोजनाका आयोजनाका काम पनि अलपत्र परेका छन् । तर, कामै नसकी बीचमै छाड्दा ती दुई आयोजनाको काम पनि प्रभावित भएको थियो । ६८ मेगावाट क्षमताको सोलु–दूधकोसी जलविद्युत् आयोजनामा सीएमसीले इन्जिनियरिङ, निर्माण र खरिदसम्बन्धी कामको जिम्मा पाएको थियो ।

कुल ८ अर्ब रुपैयाँबराबरको लगानी रहेको सो आयोजना तीन वर्षभित्र सक्ने सरकारको लक्ष्य थियो । त्यसैगरी, १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा मुख्य लगानी एसियाली विकास बैंक (एडीबी) को छ । २०२३ डिसेम्बरभित्र सक्ने लक्ष्य रहेको सो आयोजनामा एडीबीको २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ लगानी रहेको मन्त्रालयले जनाएको छ । एडीबीले प्राविधिक रूपमा योग्य ठहर गरेपछि सीएमसीसँग सो आयोजना निर्माणका लागि सम्झौता भएको थियो । सीएमसीले काम छाडेपछि सरकारले एडीबीसँग छलफल थालेको राजधानीमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्