सुरक्षा संयन्त्रको समन्वयलाई प्रभावकारी बनाइने



फिदिम : शान्ति व्यवस्था कायम राख्न पाँचथर र ताप्लेजुङ जिल्लाका सुरक्षा संयन्त्रहरुले आपसी समन्वय र सूचना आदान-प्रदानलाई प्रभावकारी बनाउने भएका छन् ।

२ जिल्लाका पाँचवटै सुरक्षा निकायका प्रमुखको हालै बसेको संयुक्त बैठकले अपराध न्यूनीकरणका लागि संयुक्तरूपमा काम गर्ने निश्कर्ष निकालेका हुन् । पाँचथर-ताप्लेजुङ सीमावर्ती काबेलीमा सम्पन्न बैठकले हातहतियार तथा वन्यजन्तुको अवैध ओसारपसार र प्रयोग रोक्न समन्वयात्मकरूपमा अघि बढ्ने निर्णय गरेको पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए ।

यस्तै शान्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्न सक्ने तत्वको पहिचान र नियन्त्रण गर्ने, सडक सुशासन प्रवद्र्धनलाई कडाइका साथ लागू गरी दुर्घटना न्यूनीकरणको प्रयास गर्ने, यी जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि समन्वयात्मक सुरक्षा व्यवस्था लागू गर्ने बैठकले निर्णय गरेको न्यौपानेले जानकारी दिए ।

यी दुई जिल्लामा भरुवा बन्दुकलगायत घरेलु हतियारको प्रयोग अधिक रहेको छ । भरुवा बन्दुकको प्रयोगबाट हत्या तथा आतङ्क फैलाउने घटना हुने गरेका छन् । सालक, रातो हाब्रे (रेडपाण्डा)लगायत वन्यजन्तुको ओसारपसारका घटनासमेत सार्वजनिक हुने गरेका छन् ।

सडक सुशासन कायम नहुँदा दुर्घटना रोकथाममा समस्या पर्दै आएको छ । दुवै जिल्लाका सुरक्षा संयन्त्रको संयुक्त प्रयास र समन्वयबाट मात्रै अपराध न्यूनीकरण एवं शान्ति सुव्यवस्था काम गर्न सहज हुने भएकाले समन्वयात्मक सुरक्षा प्रबन्ध गर्न लागिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए ।

बैठकले अन्तर्राष्ट्रिय रूपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणको जाँचलाई मजबुद बनाउँदै लैजाने निर्णयसमेत गरेको छ । बैठकमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका दुवै जिल्लास्थित प्रमुखको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्