फिल्म ‘गोपी’ माघ १८ मा हलमा



काठमाडौं : यस वर्षका प्रतीक्षित फिल्महरुमध्येको एक हो ‘गोपी’ । यो मौलिक कथामा आधारित फिल्म हो । यसमा विदेशी मोह त्यागेर स्वदेशमै गाईपालन गरेर बसेका एक युवकको संघर्ष र सफलताको कथा देखाइएको छ । फिल्म ‘गोपी’ माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् ।

 

हालसालै प्रदर्शन भएको फिल्म ‘प्रसाद’ मा निःसन्तान श्रीमान्को भुमिका निर्वाह गरेका नायक विपिन कार्कीले यस फिल्ममा एक गाईपालक किसानको भूमिका निभाएका छन् । अभिनयबाट पात्रलाई न्याय दिलाउन सक्नुपर्छ भन्ने मान्यता बोकेर कलाकारितामा होमिएका उनी ‘गोपी’ लाई पृथक् फिल्म भन्न रुचाउँछन् ।

 

यस फिल्ममा नायक विपिनको अपोजिटमा दुई नायिकाहरु सुरक्षा पन्त र वर्षा राउत रहेका छन् । दुवै फिल्ममा विपिनको प्रेमिकाको भूमिकामा छन् । फागुन २ गते प्रेमी संजोग कोइरालासँग लगनगाँठो कस्ने तयारीमा रहेकी नायिका वर्षा पनि अहिले फिल्मको टिमसँगै फिल्मको प्रमोसनमा व्यस्त छिन् । यस फिल्ममा वर्षाले भेटेरिनरी डाक्टरको भूमिका निभाएकी छिन् ।

 

‘गोपी’ फिल्म १ करोड ५० लाखको लागतमा निर्माण भएको हो । यस फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । आरोही केसी निर्माता रहेको यस फिल्ममा भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारको पनि अभिनय छ । यो फिल्मलाई शैलेन्द्र डी कार्कीले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्