चरिकाेटमा सालकको खपटासहित पक्राउ



चरिकोट : संरक्षित वन्यजन्तु सालकको खपटासहित दोलखा प्रहरीले दुईलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनीहरुको साथबाट दुई केजी ९०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपटा प्रहरीले बरामद गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको टोलीले भीमेश्वर नगरपालिका–३ स्थित लामाचौर आसपासको महादेव मन्दिरबाट उनीहरुलाई पक्राउ गरेको थियो । अर्जुन देवकोटाले भिरेको झोला प्रहरीलाई शङ्कास्पद भई रीतपूर्वक खानतलासी गर्दा झोलाभित्र निलो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा दुई केजी ९०० ग्राम सालकको खपटा फेला परेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए। 

 

जिल्ला प्रहरी कार्यालय दोलखाले मात्र २०७१ असोज २२ गतेदेखि हालसम्म विभिन्न मिति तथा स्थानबाट १० केजी ८०० ग्राम सालकको खपटा बरामद गरेको छ । गत साउन २५ गते मात्र भीमेश्वर नगरपालिका–७ निवासी होमबहादुर थापालाई ३८० ग्राम सालकको खपटासहित पक्राउ गरेको थियो । 

 

दोलखामा सालकको खपटा ओसारपसार तथा बेचबिखन गर्ने गिरोहको समूह बढ्दै गएको र त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्