प्रदेश ३ मा सहिद दिवसमा बिदा



हेटौंडा : प्रदेश–३ को सरकारले यही माघ १६ गते सहिद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशस्तरीय सार्वजनिक बिदा दिने प्रदेश–३ सरकारको यो पहिलो निर्णय हो । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले सहिदहरुको सम्झना एवम् सम्मानस्वरुप बिदा दिने निर्णय गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्तुत गरेका प्रदेशस्तरीय केही सार्वजनिक लिखत प्रमाणिकरण ऐन, २०७४ लाई संसोधन गर्न बनेको विधेयक पनि  स्वीकृत गर्नुको साथै बिशेष अनुदान अन्तर्गतका योजना तथा कार्यक्रम स्वीकृत गर्ने र नेपाल सरकारबाट प्रदान गरिने समपुरक अनुदानका  योजना पनि पठाउने निर्णय गरेको छ । 

यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्तुत गरेको सामूहिक खेति प्रवद्र्धन कार्यक्रम कार्वान्वयन कार्यविधि, २०७५ को मस्यौदा स्वीकृत गर्नुका साथै, कृषि वन प्रवद्र्धन कार्यक्रम कार्यविधि, २०७५ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । 

बैठकले सामाजिक विकास मन्त्रालयले प्रस्तुत गरेको प्रदेश आपतकालीन बाल संरक्षण कार्यविधि, २०७५ स्वीकृत गरेकाे छ । बैठकले संघीय सरकारअन्तर्गत प्रदेश–३ भित्रका मकवानपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, धादिङ र चितवनस्थित महिला तथा बालबालिका कार्यालयको भवन तथा निर्माणाधीन भवनहरु हस्तान्तरण गर्न अनुरोध गर्ने निर्णय पनि गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकटेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्