पर्सा जिल्लामा अधिकांश सरकारी कार्यालयले नै बिजुलीको रकम बुझाएन



वीरगन्ज : नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले ६२ करोड बढी बक्यौता उठाउन बाँकी रहेको छ । चालु आर्थिक वर्ष ०७५ को माघको दोस्रो साता पुग्न लाग्दा प्राधिकरणले ४ सय ५० जनाको लाइन काटेर ४ करोड २४ लाख ६४ हजार रुपैयाँ मात्र असुल उपर गरेको छ । 

 

लाइन काटिएकामध्ये ४ सय २२ जनाले प्राधिकरणलाई बाँकी बक्यौता बुझाएर लाइन जडान गरेका छन । प्राधिकरणको बक्यौता असुल गर्न कडाईका साथ लागि परेको प्राधिकरणका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

 

प्राधिकरणले पर्सा जिल्लाबाट कुल ६२ करोड ८३ लाख ४० हजार रुपैयाँ बक्यौता असुल गर्नुपर्ने रहेको छ । जसमध्ये सडक बत्तीबाट मात्र २२ करोड ५५ लाख ६१ हजार रुपैया उठाउनुपर्ने छ । घरबत्ती, गैरव्यापारी कार्यालय, उद्योग करकारखाना, घरेलु व्यापारी, मन्दिर मस्जिदबाट बाँकी बक्यौता असुल गर्न बाँकी रहेको कार्यालयले प्रमुखले बताए ।

 

यहाँका अधिकांश सरकारी कार्यालयहरुले पनि समयमा बिजुलीको रकम नबुझाउँदा प्राधिकरणलाई आर्थिक समस्या भइरहेको कार्यालयले जनाएको छ । वीरगन्ज चिनी कारखानाले ३ करोड १६ लाख ३७ हजार रुपैयाँ बुझाउन मात्र बाँकी छ । 

 

बारम्बार ताकेता गरे पनि बिजुलीको रकम बुझाउन कुनै पहल भएको छैन । जिल्ला प्रशासन कार्यालय, अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले मात्र साढे १४ लाख रुपैयाँ बुझाउन बाँकी रहेको छ । त्यसैगरी वीरगन्ज उपमहानगरपालिकाले सडक बत्तीमा १६ करोड र महानगरपालिकाको मातहात रहेको कार्यालयहरुको ७० लाख रुपैयाँ बुझाउन बाँकी रहेको छ । 

 

जिल्ला खानेपानीबाट ५ लाख ६० हजार, ठाकुराम बहुमुखी क्याम्पसबाट २२ लाख १५ हजार, सामुदायिक विकासबाट १० लाख, नारायणी उपक्षेत्रिय अस्पतालबाट २४ लाखभन्दा बढी रकम बुझाउन बाँकी रहेको छ । 

 

३ वर्षदेखि लगातार रकम बुझाउन आग्रह गर्दा पनि कार्यालयले अटेर गर्दै आएको छ । लाइन काट्यो भने सेवाग्राहीहरु नै मर्कामा पर्ने भएकोले लाइन काट्न पनि अप्ठयारो परेको कार्यालय प्रमुख ठाकुरले बताए । 

 

त्यसैगरी वीरगन्ज कारागार, पोखरीया नगरपालिका, जिल्ला उचाङ्गल मावि पोखरीयाले, सिद्धार्थ माध्यामिक विद्यालयले, जिल्ला विकास समिति कार्यालयले लगायत दर्जनौं सरकारी कार्यालयहरुले नै विद्युतको रकम भुक्तानी गरेका छैन । 

 

विद्युत चुहावट गर्ने विरुद्ध अभियान नै चलाएर कार्यालयले २४ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । 

 

पोलमा हुकिङ्ग गरी विद्युत चुहावट गर्ने ४० जना र मिटर भएका तर हुकिङ्ग गरी विद्युत चुहावट गर्ने ३२ जनालाई कारवाही गरी २४ लाख ३१ हजार रुपैयाँ जरिवाना असुल उपर गरेको कार्यालयले जनाएको छ । त्यसैगरी कार्यालयले कालोसुचिमा परेको ५२ जना ग्राहकबाट २५ लाख ४३ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । 

 

    जनशक्ति तथा यातायात साधन श्रोतको अभावका कारण पनि कार्यालयले सेवाग्राहीबाट बाँकी बक्यौता उठाउन तिव्रताकासाथ अगाडी बढेको कार्यालयले जनाएको छ ।

 

 चालु आर्थिक बर्षको माघ महिनाको दोस्रो सातासम्म प्राधिकरणले कुल १ अर्ब ७३ करोड ५४ लाख ३० हजार रुपैया राजश्व संकलन गरेको छ । गत वर्षको तुलनामा १७ प्रतिशत बढीले राजश्व संकलन गरेको हो । 

 

गत आर्थिक बर्षमा कार्यालयले कुल १ अर्ब ४३ करोड ६५ लाख ४९ हजार रुपैया राजश्व संकलन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्