प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली अदालतमा उपस्थित



काठमाडौं : अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली मंगलबार सर्वाेच्च अदालतमा उपस्थित भएका छन् । गत सोमबार सर्वाेच्चले उनीहरूलाई एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन भनेपछि उनी चारजना प्रहरी अधिकृत लिएर अदालत पुगेका हुन् ।

महानिरीक्षक ज्ञवालीसहित महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी, सोह्रखुट्टे वृत्तका सन्तोषसिंह राठौर र सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकी सर्वाेच्चमा उपस्थित भएर आफूहरूले कानुनसम्मत नै काम गरेको र अदालतको अपहेलना नगरेको जवाफ दिएका छन् । बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले छाड्न भनेका व्यक्तिलाई अदालतको गेटबाटै पक्राउ गरेको भन्दै गत १८ फागुनमा उनीहरूविरुद्ध अपहेलना मुद्दा दायर भएको थियो । भोलिपल्ट अदालतले उनीहरूलाई सात दिनको म्याद दिएर उपस्थित हुन भनेको हो । 

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएको आरोपमा पक्राउ परेका भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई सर्वाेच्च अदालतले छाड्न आदेश दिएकोमा सर्वाेच्चबाटै उनीहरूलाई गाडीमा राखेर प्रहरी कार्यालयमा पुर्‍याएर अर्काे मुद्दामा अनुसन्धान गरिएको थियो । प्रहरी कार्यालयमा रहेका सामान फिर्ता दिने भनेर काठमाडौं परिसर लगेर सोह्रखुट्टे वृत्तमार्फत फेरि मुद्दा चलाइएको थियो । एउटा मुद्दामा सर्वाेच्चले छाड्ने भनेको र उनीहरूविरुद्ध अर्काे ठाउँमा कसुर भएकाले त्यसैका लागि पक्राउ गर्नुपरेको जवाफ महानिरीक्षकलगायत प्रहरी अधिकृतले दिएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्