जनकपुरमा लागू औषध, मदिरा नियन्त्रण तथा महिला हिंसा नियन्त्रण गर्न सबै जुटे



जनकपुरधाम : जनकपुरमा मंगलबार लागू औषध, मदिरा नियन्त्रण तथा महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रमकाे अायाेजना गरिएकाे छ ।  

 

कार्यक्रममा वक्ताहरुले लागू औषध, मदिरा नियन्त्रण र महिला हिंसाबारे आफ्नो-आफ्नो स्थानबाट न्यूनिकरण र सचेतना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

आदर्श समाजको निर्माणको परिकल्पनाको लागि गलत क्रियाकलापलाई निरुत्साहित गर्न एकबद्ध भएर अगाडि बढ्ने समय आएको उनीहरुकाे निष्कर्ष थियाे ।

 

सचेतना कार्यक्रमको उद्देश्य नै आर्दश समाज निर्माण गर्नु रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछानेले बताए । प्रजिअ लामिछानेको कार्यक्रममा भने , 'यो अभियानलाई सार्थक र  सफल पार्न समाजका प्रत्येक तप्कालाई जागरूक बनाउनु पर्छ ।'

 

सबैले आ-आफ्नो स्थानबाट आ-आफ्नो दायित्व पुरा गरेपछि मात्रै यो अभियानले सफलता पाउने प्रजिअ लामिछानेले बताए ।  उनले थप्दै भने,  ‘लागू औषधको प्रयोगले हाम्रो समाज आर्थिक, सामाजिक र व्यक्तिगत रुपमा कमजोर हुङ्गदै गएको जिकिर गर्दै अब हामीले लागू औषध, मदिरा नियन्त्रण तथा महिला हिंसा रहित जनकपुरधाम बनाउनुपर्छ ।’

 

कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले भने, ' आजको कार्यक्रममा बालबालिकाको उपस्थिति र सक्रियाताले सकारात्मक संदेश दिएकाे छ ।’

 

मेयर साहले जनकपुरमा रहेको एक सय १८ निजी र ५२ वटा सामुदायिक विद्यालयले लागू औषध, मदिरा नियन्त्रण तथा महिला हिंसा अन्त्यका लागि संकल्प लिने हो भने यो अभियान पूर्ण रुपमा सफल हुने विश्वास व्यक्त गरे ।

 

स्थानीय रामनन्द चाेकमा भएको उक्त कार्यक्रममा विभिन्न स्थान र पसलहरूबाट प्रहरीले नियन्त्रणमा लिएको मदिरा पनि नष्ट गरेकाे थियाे ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाको अध्यक्षतामा भएको सचेतना मूलक कार्यक्रममा महिला सञ्जाल,  बाल क्लब, विभिन्न संघ संस्थाका पदाधिकारी, विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

 

मंगलबार बिहान जानकी मन्दिरबाट जनचेतना र्‍याली सुरु भएर रमान्नद चाेकमा कोणसभामा परिणत भई कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्