प्रदेश–१ को प्रदेशसभा अधिवेशन अन्त्य, मुख्यमन्त्रीको गुनासो



विराटनगर : प्रदेशसभाको दोस्रो अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ ।

 

बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालू भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घन्टा समय खर्च भएको जानकारी दिए ।

 

समापन बैठकलाई सम्बोधन गर्दै प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर–१ मा उन्नत राजनीतिक समझदारी र सुझबुझ रहेको तथा प्रदेशसभा सदस्यमा दायित्व बढेको स्पस्ट गरे ।

 

उनले प्रदेश संरचनामा अनुभव र अभ्यास पहिलो भएपनि प्रदेशसभाले उल्लेखनीय काम गरेको जिकिर गर्दै संघीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश सरकारलाई हस्तान्तरण हुने संरचना र कर्मचारीको अभावमा प्रदेश सरकारले सार्वजनिक गरेको बजेट प्रभावित भइरहेको गुनासो गरे ।

 

उनले प्रदेशको राजधानी र नामकरणका विषयमा विभिन्न सञ्चामाध्यममा सत्यतथ्यको आधारमा समाचार नआएको टिप्पणी गरे । उनले प्रदेशसभाको तेस्रो अधिवेशनको सुरुमै राजधानी र नामकरण टुंगो लगाइने बताए ।

 

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको अन्य प्रदेशभन्दा यो प्रदेशमा निकै काम भएको र राजनीतिक समझदारी पनि रहेको विचार राखे ।

 

संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य जयराज यादवले राजधानी र नामकरणको विषय सबैको सहमति र समझदारीमा घोषणा गर्न सुझाव दिए ।

 

प्रदेशसभा सदस्य इन्दिरा राईले प्रदेशलाई अब्बल बनाउन सबैको साथ–सहयोगको आवश्यकता औंल्याइन् । रासस

प्रतिक्रिया दिनुहोस्