देउवाको निर्णयप्रति पौडेल आक्रोशित



काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्णय बिरुद्ध आक्रोशित हँुदै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।

कांग्रेस सभापति देउवाले पश्चिम नवलपरासीका कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाएर आफू निकटका बिष्णु पौडेललाई जिम्मेवारी दिएपछि वरिष्ठ नेता पौडेल आक्रोशित भएका हुन् ।

काँग्रेस केन्द्रीय कार्यालयमा आज पौडेल समूहको बैठकले देउवाको सो निर्णयको विरोध गर्दै सो बिषयमा कुरा गर्न महामन्त्री डा. शशांक कोइरालालाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य धनराज गुरुङले बताए । पत्र लेखेर वा भेटर सो निर्णय सच्याउँन देउवासंग कुरा गर्ने अधिकार महामन्त्री कोइरालालाई दिइएको उनले बताए ।

पौडेल समूहको सो बैठकमा देउवाका यस अघिका मनोमानी निर्णयको समेत विरोध भएको छ । देउवाले आफूखुसी पार्टीमा मनोनित गर्न थालेपछि पौडेल समुह आक्रोशित भएको छ ।

बिधानविपरित महाधिवेशन प्रतिनिधि नै नभएको व्यक्ति जिल्ला सभापति हुन नसक्ने जनाउँदै सभापति देउवाले सो निर्णय गरेको बताइएको छ । तर कार्यवाहक जिल्ला सभापति हुन महाधिबेशन प्रतिनिधि नै हुनैपर्ने व्यवस्था पार्टी बिधानमा नभएको दावी पौडेल समूहको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्