देउवाले मनोमानी पद बाँड्दै आफू बलियो हुन खोजे : शेखर कोइराला



विराटनगर : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले मनोमानी पद बाँड्दै आफू बलियो हुन खोजेको आरोप लगाएका छन् । देउवा पार्टीको नभई एक गुटको नेताको रुपमा सिमित भएको आरोप कोइरालाले लगाएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा आज प्राध्यापक र बुद्धिजीवीहरूसँगको छलफलमा कोइरालाले देउवाले आफू निकटका व्यक्तिलाई पद बाँडदै बलियो भएको अनुभूति गरिरहेको आरोप लगाए ।

सभापति देउवाले हालै बिभागीय प्रमुखका साथै केही केन्द्रीय सदस्य मनोनित गरेका थिए । सोही बिषय उल्लेख गर्दै कोईरालाले सभापति देउवा समग्र पार्टीको नेता नभई एउटा गुटको नेतामा सिमित भएको आरोप लगाए ।

सभापति भनेको समग्र पार्टीको हुनुपर्ने बताउँदै उनले पार्टीभित्र बिचारको बहस हुन नसक्दा नेतृत्वलाई समस्याको बारेमा जानकारी नभएको बताए । स्वर्गीय गिरिजाप्रसाद कोईराला हुदाँ पार्टीमा समस्या भए पनि पद बाडेर बलियो कहिलै हुने प्रयास नगरेको उनले बताए । पार्टीमा समस्या भएपछि गिरिजाप्रसाद जिल्ला पुगेर नेताहरुको सुझाव लिएर कार्यान्वयन गरेको अनुभव उनले सुनाए ।

भागबण्डाको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको बताउँदै उनले देउवा सभापति भएपछि भागबण्डाको राजनीति झनै झ्यांगिएको दाबी बताए । ‘१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँदै गर्दा देउवाजीले पार्टीलाई एकढिक्का बनाउने र भागबण्डाको राजनीति अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो,’ कोइरालाले भने, ‘तर उहाँको कार्यकाल सकिँदै गर्दा पनि भागबण्डा गरिरहनु भएको छ, गुटगत राजनीतिलाई बढावा दिइरहनु भएको छ ।’

भागबण्डाको राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत साथ दिइरहेको कोइरालाको आरोप थियो । ‘आफ्नो मान्छे पर्दा चुप बस्ने अनि नपर्दा विरोध गर्ने चरित्र वरिष्ठ नेताहरूमा समेत देखिएको छ,’ कोईरालाले भने ।

कोइरालाले सरकारकै कारण लोकतन्त्र खतरामा पर्दै गएको दावी समेत गरेका छन् । सरकारले गलत काम गर्ने व्यक्तिलाई कारबाही नगर्दा सरकारप्रति जनताको विश्वास गुम्दै गएको उनले बताए ।

‘वाइडबडी, निर्मला हत्याकाण्ड, ३३ किलो सुन, ७० करोड कमिसनलगायतका काण्डका कारण सरकारप्रति जनताको विश्वास गुमेको छ,’ कोईरालाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीजीले सेक्युरिटी प्रेस खरिदको ७० करोड टेपकाण्ड सार्वजनिक हुँदा पनि गोकुल बाँस्कोटाको डिफेन्स गरिरहनुभएको छ किन ?’

नेकपाकै नेताहरुले काँग्रेस संसदमा शसक्त रुपमा उत्रिनुपर्ने आग्रह गरे पनि काँग्रेस संसदमा पनि सशक्त उपस्थिति जनाउँन नसकेको कोईरालाले स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्