मृतक १४ परिवारलाई पूर्वमन्त्री महासेठले किरिया खर्च वापत दिए २० हजार



जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–१ र २ रमदैया भवाडीमा अवैध घरेलु मदिरा सेवन गर्दा ज्यान गुमाएका १४ जनाको परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रघुवीर महासेठले किरिया खर्च वापत केहि रकम सहयोग गरेका छन् ।

मृतकका परिवारलाई किरिया खर्च स्वरुप पूर्वमन्त्री महासेठले जनही २० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । पूर्वमन्त्री महासेठले मृतकहरुको घरमै पुगेर आफ्नो व्यक्तिगत तर्फबाट मृतकको परिवारलाई किरिया खर्च स्वरुप सो रकम प्रदान गरेका छन् ।

अवैध घरेलु मदिरा सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैया भवाडी वडा नम्बर–२ का ३५ वर्षीय ब्रम्ह्देव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदर महरा, ५५ वर्षीय रामसखी सदा, ६० वर्षीय श्रीदेव यादव, ३० वर्षीय इन्द्रजित महरा, ४५ वर्षीय शत्रुधन मण्डल र वडा नम्बर–१ का ३५ वर्षीय राम नारायण महरा, ३० वर्षीय राजु महरा, ४८ वर्षीय राम बहादुर यादव, भुटकुन सदा, विजय सदा, दशैंया महरा र निरस यादवको मृत्यु भएको थियो । अवैध घरेलु मदिरा सेवन गर्दा फागुन २९ गतेदेखि चैत १ गतेसम्मको अवधिमा उनीहरुको मृत्यु भएको थियो ।

किरिया खर्च उपलब्ध गराउँदै पूर्वमन्त्री महासेठले एकै ठाउँमा यस्तो ठुलो घटना हुनु धेरै दुःखद रहेको बताए । उनले अब उपरान्त गाउँका अन्य व्यक्तिलाई मदिरा सेवन नगर्न र अवैध मदिरा उत्पादक एवं भठ्ठीहरु माथि कडा निगरानी गर्न स्थानीयसँग आग्रह गरे । उनले मृतक परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन प्रदेश सरकारसँग समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्