नर्मदा विद्यालयको होस्टेलमा बस्दै आएका दिनेश १० दिनदेखि सम्पर्कविहिन



जनकपुरधाम : जनकपुरधामस्थित एक विद्यालयका विद्यार्थी विगत दश दिनदेखि सम्पर्कविहिन भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ स्थित नर्मदा सेकेन्ड्री बोर्डिङ्ग स्कूलको कक्षा ५ मा अध्ययनरत १४ वर्षीय विद्यार्थी दिनेश मण्डल फागुन २२ गतेदेखि नै सम्पर्कविहिन भएका हुन् ।

धनुषाको कमला नगरपालिका वडा नम्बर–४ बस्ने प्रभु मण्डलका छोरा दिनेश मण्डल विगत ५ वर्षदेखि सो विद्यालयको होस्टेलमा बस्दै आएका थिए । गत फागुन १० गते प्रभु विदेशबाट फर्केपछि आफ्नो छोरा दिनेशलाई विद्यालयमा विदा भएकोले आफुसँगै घर लगेका थिए । घरमा १२ दिनको बसाईपछि दिनेश आफ्नो मामा दिपक मण्डलसँग फेरि जनकपुरधाम आए । दिनेशलाई उनको मामाले भानूचोकस्थित सिन्धुली होटेलमा खाना खुवाएर विद्यालयसम्म नपुर्याइ तिमि विद्यालय गईहाल भन्दै उनी बाटोबाटै फर्के । पछि दिनेश विद्यालयनै नपुगी बाटोबाटै आफ्नो साथी धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका धिरज शर्मासँग उनको घर गए । धिरजको घरमा आठ दिनको बसाईपछि दिनेशलाई धिरजको अभिभावकले फेरि विद्यालयको गेटसम्म छाडेर फर्के । तर दोश्रो पटक पनि दिनेश विद्यालय भित्र प्रवेश नै नगरि गायव भएको सो विद्यालयका व्यवस्थापक अजय कुमार झाले बताए ।

यता दिनेशका अभिभावक प्रभु मण्डल आफ्नो छोरा विद्यालयमै होला भनेर ढुक्क थिए । तर, पछिल्लो शुक्रबार होली पछि छोरालाई विद्यालयमा भेट्न जाँदा छोरा त्यहाँ नरहेको उनले जानकारी पाए । आफ्नो छोरा शुक्रबारदेखि नै गायव भएको प्रभुले बताए । उनले भने, ‘मलाई के थाहा मेरो छोरा विद्यालयमा पुगेको छैन, मैले त उ आफ्नो विद्यालयमै होला भनेर उसको लागि घरबाट ल्याएको केहि सामान उसलाई पुर्याउन आएको थिएँ तर उ त यहाँ छँदै छैन् ।’ उसको विद्यालयमा सोध्दा दिनेश त तपाईंसँगै घर गएको थिएन र भनेर उल्टै प्रश्न गरेको उनले बताए ।

घटना सम्बन्धमा विद्यालयका व्यवस्थापक अजय कुमार झाले भने, ‘हामीले त दिनेशलाई विद्यालय विदा भएपछि उसको अभिभावकले छोरालाई लिन आउँदा उनको जिम्मा लगाएका थियौं । दिनेशको अभिभावकले हामीलाई फोन पनि गर्नुभएन कि हामीले विद्यार्थीलाई विद्यालयसम्म पुर्यायौं । हामी त दिनेश आफ्नो घरमै होला भनेर ढुक्क थियौं । पछि उ आफ्नो साथीसँग उसको घर गएको जानकारी पनि हामीले पायौं । तर उसको साथीको अभिभावकले पनि हामीले त दिनेशलाई विद्यालयको गेटसम्म पुर्याएका थियौं भनेर जवाफ दिए ।’ यस्तो अबस्थामा कन्फ्युजन हुनु सामान्य कुरा रहेको उनले थपे ।

दिनेश विगत दश दिनदेखि सम्पर्कविहिन भएपछि उसको घरमा खानपिन सबै बन्द छ भने उसको आमा छिनछिनमै बेहोस हुँदै आएकी छिन् । यता दिनेशका पिता प्रभुले विद्यालयले शुल्क मनलाग्दी लिएपनि आफ्नो उत्तरदायित्वलाई बिर्सेको आरोप लगाए ।

उनले आफ्नो छोरालाई खोजविन गरिदिन विद्यालय लगायत प्रहरी प्रशासन सबै पक्षसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्