प्रदेश २ को नाम र राजधानीका लागि भोली गोप्य मतदान



जनकपुरधाम : प्रदेश २ को राजधानी र नामाकरणका लागि भोली (मंगलबार) गोप्य मतदान हुने भएको छ। प्रदेशको नाम र राजधानी तोक्न भोली बिहान ८ बजे मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले जानकारी दिएका छन् ।

गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा अध्ययन विशेष समितिले गोप्य मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक परमेश्वर साहले प्रस्तुत गरेका थिए । प्रदेश २ को नामाकरणका लागि सत्तारुढ दल समाजवादी र राजपाका प्रदेशसभा सदस्यहरुले मधेश प्रदेश,प्रतिपक्षी कांग्रेसले मिथिला र नेकपाले जानकी प्रस्ताव राखेका थिए ।

समितिमा राजधानीका लागि बाँकी रहेको जनकपुरधाम र विरगञ्ज सहित ३ वटा प्रस्ताव र नामाकरणका लागि रहेको ४ वटा प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख छ । यसअघि प्रदेशसभाका सचिव निर्वाचन अधिकृत रहनेगरी निर्वाचनको कार्यविधि र आचार संहिता तयार गरि सभामुख यादवलाई बुझाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्