अदुवा कृषक चिन्तित



तनहुँ : यहाँका व्यावसायिक अदुवा कृषक उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । अदुवा लगाएर घरखर्च चलाउने सपना बोकेका यहाँका कृषकले सोचेअनुरुप अदुवाको उचित मूल्य पाएका छैनन् ।

आवश्यक मूल्य नपाएपछि घरपरिवार चलाउनसमेत समस्या भएको अदुवा कृषक ऋषिङ गाउँपालिका–३ रिजालडीका टेकबहादुर आलेले बताए । “अदुवाको मूल्य सस्तो भएकाले घरव्यवहार चलाउन समस्या भएको छ ”, उनले भने, “अदुवा बिक्री गरेर घर खर्च चलाउने, चामल तरकारी किन्ने गरे पनि अहिले बजार मूल्य नपाएपछि समस्या भएको छ ।”

अदुवाले मूल्य नपाएपछि केही कृषकले सुठोसमेत बनाउने गरेका छन् । आलेको यस वर्ष दुई सय धार्नी अदुवा उत्पादन भएको छ । अदुवाको बिक्री गाउँमै भए पनि निकै संस्तो मूल्यमा बेच्नुपरेको उनको भनाइ छ ।

बजारमा ग्राहकलाई व्यापारीसँग करीब रु चार सय धार्नीमा अदुवा किन्नुपर्ने बाध्यता रहे पनि कृषकले भने एक धार्नीलाई रु एक सय ३० मा बिक्री गर्नुपरेको कृषक आलेले बताए ।

जिल्लाका ऋषिङ, भिमाद, घिरिङ, देवघाट गाउँपालिकालगायत एक दर्जन पालिका अदुवा खेतीका लागि मुख्य क्षेत्र मानिएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्