प्रदेश २ को नाम र राजधानी टुंग्याउन प्रदेशसभा बैठक जारी



जनकपुरधाम : प्रदेश २ को नाम र राजधानी टुंग्याउन प्रदेशसभा बैठक शुरु भएको छ । बैठक आज (मंगलबार) बिहान ८ बजेबाट शुरु हुने भनिएको थियो । तर, दलहरुबीच आन्तरिक बैठक बस्नुपर्ने भएकोले ३ घण्टा ढिलो गरी शुरु भएको हो । बैठक बिहान ११ बजेबाट शुरु भएको हो ।

बैठकको शुरुमै प्रदेशको नामाकरण तथा राजधानी सम्बन्धी अध्ययन विशेष समिति २०७६ को सभापतिको तर्फबाट समितिको सदस्य परमेश्वर साहले समितिको प्रतिवेदनसहित प्रदेशको नाम र राजधानीसम्बन्धमा दर्ता भएको प्रस्तावमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेका छन् ।

प्रदेशसभा सदस्य परमेश्वर साहले राजधानी सम्बन्धमा दर्ता गराएको प्रस्ताव माथि बोल्दै नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र किशोरी साह कमलले जनकपुरधामको ऐतिहासिकता र पौराणिकताको महत्वलाई बुझ्दै प्रदेश २ को राजधानी जनकपुरधामलाई तोक्न आग्रह गरेका छन् ।

प्रदेशसभाको जारी बैठकमा प्रदेश २ को नामाकरण सम्बन्धमा बोल्दै प्रदेशसभा सदस्यहरु पारस प्रसाद साह, सुरिता कुमारी साह, करिमा बेगम, बाबुलाल साहले प्रदेश २ को नाम मधेश प्रदेश हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै राजधानी सम्बन्धमा प्रदेशसभा सदस्य करिमा बेगम र ओम प्रकाश शर्माले फरक मत राखेका छन् । उनीहरुले प्रदेशको राजधानी विरगञ्ज हुनुपर्नेमा जोड दिएका छन् । विरगञ्ज महानगरपालिका रहेको र मधेश आन्दोलनको धार पनि विरगञ्ज नै रहेकोले राजधानी पनि विरगञ्ज नै हुनुपर्ने उनीहरुको जिकिर छ।

प्रदेशको नाममध्य मधेश प्रदेश राख्नुपर्नेमा प्रदेशसभा सदस्य ओम प्रकाश शर्माले फरक धारणा राखेका छन् ।

प्रदेश २ को नामाकरणका लागि सत्तारुढ दल समाजवादी र राजपाका प्रदेशसभा सदस्यहरुले मधेश प्रदेश,प्रतिपक्षी कांग्रेसले मिथिला र नेकपाले जानकी प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्