प्रदेश २ को नाम र राजधानी टुंग्याउन गोप्य मतदान शुरु



जनकपुरधाम : २ नम्बर प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउन गोप्य मतदान शुरु भएको छ । आज (मंगलबार) बिहान तीन घण्टा ढिलो गरि शुरु भएको प्रदेशसभा बैठकबाट प्रदेशको नाम र राजधानी टुंग्याउन गोप्य मतदान हुने लागेको हो ।

प्रदेशका चार दलले चार वटा प्रस्ताव पेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशको नाम ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’, सत्तापक्षका केही सांसदहरुले ‘मध्य मधेश’ र सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)ले ‘मधेश’ राख्नुपर्ने भनेर प्रस्ताव पेश गरेका छन् ।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेका समाजवादी पार्टीको ३० राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको २५, प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ३२, अर्को प्रतिपक्षी नेपाली कांग्रेसको १९ र संघीय समावादीको एक सिट छ ।

प्रदेश दुईको नामका लागि नेकपा सांसद रामकुमार यादवले पेश गरेको ‘जानकी’ को अहिले गोप्य मतदान हुँदैछ । यसका लागि ७२ जनाको मत आवश्यक पर्छ । यदि ७२ भन्दा कम मत खस्यो भने फेरी कांग्रेसले पेश गरेको ‘मिथिला–भोजपुरा’को लागि मतदान हुनेछ । यदि त्यसमा पनि कम मत खस्यो भने पुनः ‘मधेश’ नामको लागि मतदान हुने छ । तर, यसमा पनि कम मत आयोभने राजपा र समाजवादीले पेश गरेको ‘मेधश प्रदेश’ को लागि मतदान हुने हाम्रा प्रदेश २ सम्वाददाता दीपक कर्णले जानकारी दिएका छन् ।

तर, आजै प्रदेश २ को नाम र राजधानी टुंगो लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्