नूनदेखि सुनसम्म तेस्रो मुलुककै भर ! नारामा मात्रै सिमित ‘आत्मनिर्भर’



काठमाडौं : विश्वभर फैलिएको कोरोना सक्रमणका कारण यतिबेला विश्व आतंकित छ ।दिनानुदिन भाइरसका कारण मर्नेको संख्या बढिरहेको छ । संख्या बढ्ने मात्र हैनन, धेरै देशहरुमा फैलिने क्रम जारी छ । नेपाल पनि कोरोनाभाइरसको विश्वव्यापी संक्रमणलको उच्च जोखिममा छ । नेपालमा हालसम्म एक जनामा मात्र कोरोनाभाइरसको संक्रमण देखिए पनि उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सुझाव छ । डब्लूएचओले नेपाललाई उच्च जोखिममा राखेसँगै नेपालमा खाद्य सामग्री अभाव हुन थालिसकेको छ ।

छिमेकी मुलुक भारत चीनमा संक्रमितको संख्या बढ्दै जाँदा बजारमा अत्यावश्यक वस्तुको माग बढ्दै गएको छ । खाना पकाउने ग्यास, मास्क, सेनिटाइजर, सर्जिकल लगायतका अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन थालेको हो ।

अभाव हुनसक्ने आशंकामा उपभोक्ताले बढी सामान खरिद गर्न थालेपछि बजारमा अभाव देखिन थालको हो । व्यवसायीले समेत अभाव देखाएर बढी मूल्यमा सामान बिक्री गरिरहेका छन् । अझ आइतबार रातिदेखि कोरोनाभाइरसको संक्रमण भयावह बन्दै गएपछि भारतले ४ वटा बाहेक नेपालसँग सीमा जोडिएका सबै नाका बन्द गरेको छ । यस्तै चीनका नाकाहरु पनि बन्द छ । यहाँबाट थाहा हुन्छ नेपाल कतिसम्म आत्मनिर्भर बनिको छ भनेर ? आत्मनिर्भरको चर्को नारा सुनिए पनि सो अनुरुपको योजना नहुँदा स्वदेशमै उत्पादन हुनसक्ने सामान्य वस्तुको आयात समेत उच्च छ । नेपाल उपभोक्ता नूनदेखि सुनसम्मका लागि बिदेशी बजारमा निर्भर छ । स्वदेशमै पनि धेरै सामान उत्पादन गर्न सकिन्छ तर सरकार कानमा तेल हालेर बसेको छ । देशलाई आत्मनिर्भर बनाउन सरकारसँग भाषण बाहेक अरु आयात गर्ने योजना खासै देखिँदैन । जुनसुकै राजनीतिक दल सत्तामा हुँदा स्वदेशी उत्पादन र रोजगारी बढाउने कुरा गरिरहेका हुन्छन् । तर, व्यवहारमा शून्य जस्तै भएको छ ।

सामान आयात कम भयो भन्ने बिक्तिकै नेपाली बजारमा दैनिक उपभोग्य वस्तुहरु चरम अभाव हुन्छ । नेपालमा भएका सामान पनि किनेर खानै नसकिने गरेर मूल्य वृद्धि हुन्छ ।

नेपाल नुनदेखि सुनसम्म अरुको भरपर्नु पर्दा यहाँबाट थाहा हुन्छ नेपाल कतिसम्म परनिर्भर छ भनेर । परर्निभरका जोलन्त उदाहरण २०७२ सालको भूकम्प, नाकाबन्दी र अहिलेको कोरोना महामारी ।

सरकारले नेपालमा अनअराइभल भिसा बन्द गरिएका समुद्रपारका आठ मुलुकबाट कृषिजन्य, पशुजन्य र बिरुवाजन्य सामग्रीको पैठारी गर्न तत्कालका लागि रोक लगाएको छ ।

कोरोना त्रासको कारण देखाउँदै कृषि मन्त्रालयले आठ वटा मुलुकबाट हुने तीन प्रकारका आयातमा रोक लगाएको हो । रोक लगाइएका मुलुकमा चीन, दक्षिण कोरिया, जापान, इटली, इरान, फ्रान्स, जर्मनी र स्पेन छन् ।

भन्सार कार्यालय तातोपानीका प्रमुख लालबहादुर खत्रीले आठ मुलुकबाट पैठारी गरिने तीन प्रकारका सामग्रीको पैठारी तत्कालका लागि रोक लगाइएको पुष्टि गरे ।

प्रमुख खत्रीका अनुसार रोक लगाइएको पत्र कृषि तथा पशुपन्छी मन्त्रालयबाट फागुन २८ मा भन्सार कार्यालयहरूलाई पठाइएको थियो ।

स्वदेशी उत्पादनमा नेपाल आत्मनिर्भर भएको भए, भूकम्प, नाकाबन्दी, कोरोना महामारी लगाएतका कारण दैनिक उपभोग्य सामानमा पनि बजार भाउमा ठूलो उतारचढाव सायदै आउदैन थियो होला ।

भूकम्प र त्यसपछिको नाकाबन्दीपछि आत्मनिर्भरको नारा घन्कियो । तर, नाकाबन्दी भएको यतिका वर्ष पनि केही फेरीएको छैन । अझ अहिले त समृद नेपाल सुखी नेपालीको नारा लगाइएको छ तर बिडम्बना दैनिक उपभोग्य वस्तुमा समेत नेपाल परर्निभर छ । विहान बेलुकाको चुलो बाल्न अरु देशकै भर पर्नुपर्ने अवस्था छ ।

निर्यात होइन आत्मनिर्भरमै धौधौ
नेपाल कृषि प्रधान देशमा चामल, दाल, तरकारी, पिठो, मकै, खाने तेललगायत अधिकांश दैनिक उपभोग्य वस्तु आयातमै निर्भर रहेको छ। चालु आर्थिक वर्षको सात महिनामा पाँच अर्ब ९७ करोडको धान र १३ अर्ब चार करोडको चामल मात्र आयात भएको छ । त्यसैगरी जलस्रोतको धनी देश नेपालमा चालु आर्थिक वर्षको सात महिनामा १७ लाख मूल्यको पाँच हजार ७५८ लिटर मिनरल वाटर भित्रिएको छ ।

कृषिजन्य सामग्री मात्रै होइन, घरेलु तथा साना उद्योगबाटै उत्पादन गर्न सकिने स–साना सामग्रीको आयात पनि विदेशबाटै भएको छ । चालु आर्थिक वर्षको सात महिनामा टुथपिक (सिन्का) आयातमा मात्र मुलुकको ८२ लाख २४ हजार रूपैयाँ विदेशीएको छ । चकलेट मात्रै चालु आवमा एक अर्ब ५१ करोड ६६ लाख मूल्यको आयात भएको छ । हरियो तरकारी मात्रै ३९ करोड ६१ लाख रुपैयाँको भित्रिएको छ । ८८ करोड ८२ लाखको बिस्कुट आएको छ । यो आवमा एक अर्ब ६५ करोड ७५ लाखको साबुन र लुगाधुने पाउडर भित्रिएको छ ।

स्वदेशमै रबर उत्पादनको प्रचूर सम्भावना हुँदाहुँदै सात महिनामै ६ अर्ब ४४ करोडको रबर भारत, चीन, मलेशिया, थाइल्याण्डलगायतका मुलुकबाट आयात भएको छ । नेपालमा सर्वत्र पाइने बाँस पनि सात महिनाको अवधिमा १५ करोड ६४ लाख मूल्यको त बाँस मात्रै भित्रिएको छ । एक अर्ब ३६ करोड ६४ लाख बराबरको काठ र प्लाइउडको आयात भएको छ । एक अर्ब ३७ करोड ५३ लाखका फर्निचर भित्रिएका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म इलेक्ट्रोनिक्स सामान, गाडी, हरेक प्रकारका कच्चा पदार्थ, लत्ताकपडा, खाद्यान्नदेखि हरियो तरकारीसमेत गरेर आठ खर्ब तीन अर्ब बढीको सामान आयात गरिएको छ ।

यही अवधिमा ६४ अर्ब ९७ करोड बराबरको मात्रै सामान निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आठ खर्ब ३३ अर्बको सामान आयात भएको थियो भने ५३ अर्ब ७८ करोडको निर्यात गरिएको थियो । व्यापार घाटाको यो अंक गत आ.व.को तुलनामा ३.५६ प्रतिशतले कम हो । जुन कुल आयात निर्यातको आकडामा नगन्य छ ।

नेपालमा उत्पादन भइरहेको कफी चाउचाउ, ऊन, गलैंचा, मह, छालाजन्य वस्तुलगायतका १२ सामग्रीलाई निर्यातजन्य वस्तुमा समेटेर सरकारले प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, पनि चाउचाउ बाहेक यीमध्ये कुनै पनि सामग्रीले आयात प्रतिस्थापन गर्न सकेका छैनन् ।

के भन्छ–अर्थ मन्त्रालय
नेपाल पछिल्लो समय आत्मनिर्भर बन्दै गएको अर्थ मन्त्रालयले जनाएको छ । का सहसचिव पछिल्ला वर्षमा आयात निर्यातको अनुपात कम हुँदै गएको छ र विस्तारै देश आत्मनिर्भरको बाटोमा लागेको छ, अर्थ मन्त्रालयका सहसचिव मुकुन्द पौडेलले भने ।

उनले भने–‘आयात प्रतिस्थापनका लागि सरकारले नीति, लगानीमैत्री वातावरण र उद्योगको सुरक्षामा कुनै कमी गरेको छैन। एकै पटक नतिजा आइहाल्ने होइन् । यसमा समय लाग्छ ।’

सरकारले आत्मर्निभरका लागि दिर्घकालीन योजना बनाएर अघि बढि रहेको उनको भनाइ छ ।

सरकारले आत्मर्निभर सम्बन्धि सोचेकै छैन–उद्योग वाणिज्य महासंघ
सरकारले आत्मर्निभरसम्बन्धि सोच्दै नसोचेको नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बताए । उनी भन्छन्–‘उत्पादन गर्नु भनेको गाहे काम हो । सजिलो हैन

संसारभरी आफ्नो देशमा उत्पादन गर्नु भनेको दिर्घकालीन फाइदा हो । नेपालले यो भन्दा अघाडिसम्म छोडो समयसम्मको लागि मात्र सोचेको थियो । तर, अहिलेको सरकारले लामो दिर्घकालीन योजना ल्याउछ होला भन्ने हाम्रो आश हो । दिर्घकालीन सोचका साथ एउटा उद्योग स्थापना गर्ने हो भने दिर्घकालसम्म उसले उत्पादन गरिरहन्छ ।’

सरकारले भूकम्प अथवा तत्काल समस्या पर्दा मात्र आत्मर्निभर सम्झने र अलिकति सहज हुने बिक्तिकै बिर्सने बानी रहेको उनले बताए । उनले भने–‘सरकारले गम्भिर रुपमा नलिएकोले अरु देशको भर पर्नुपरेको हो । सरकाले गम्भीर रुपमा लिने हो भने आतर्निभर हुन्थ्यो । पहिला पहिला अरु देशको सामान ल्याउन नपाउने, स्वाबलम्भिको कुरा हुन्थ्यो तर अहिले अरु देशको सामान ल्याउन पाउने नीतिगत समस्याका कारण यस्तो समस्या देखिएको हो ।’

सरकारसँग स्वदेशी उद्योग प्रोत्साहनको नीति नहुनु, युवा शक्ति पलायन हुनु, आयातित सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नु, लगानीको सुनिश्चितता र सुरक्षा नहुनुलगायतका कारण परर्निभर पर्नु परेको उनको बुझाइ छ ।

उनका अनुसार स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति, कच्चा पदार्थ आयातमा विशेष सहुलियत, उत्पादनशील उद्योगलाई प्राथमिकता दिएर आयातमा कमी ल्याउन सकिने छ ।

कतिपय स्वदेशी उत्पादनले आयातित सामग्रीसँग गुणस्तरमा प्रतिस्पर्धा गर्न नसक्दा पनि आयात प्रतिस्थापन हुन नसकेको उद्योगीहरूको बुझाई छ । त्यसोत स्वदेशी उत्पादनको बजारीकरणमा पनि समस्या छ ।

अहिले तत्कालको समस्या समाधान गर्न भने अन्तर्राष्ट्रिय बजारबाट सामान ल्याएर आपुर्तिलाई सहज गर्ने, उपभोक्ताहरुलाई जनचेतना जगाउने लगाएतका काम गर्नुपर्ने देखिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्