श्रीमानको हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान



तनहुँ : श्रीमानको हत्या अभियोगमा पक्राउ परेकी श्रीमतीलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-३ कृष्णमन्दिर बस्ने ६० वर्षिय रामबहादुर कार्कीको हत्या अभियोगमा पक्राउ परेकी ४० वर्षिय सम्झना कार्कीलाई अदालतले आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश वासुदेव पौडेलको आदेशबाट सम्झना पुर्पक्षमा लागि थुनामा गएको जिल्ला स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । सम्झनालाई प्रहरीले गत फागुन ८ गते पक्राउ गरेको थियो । रामबहादुरको गत माघ १७ गते हत्या भएको थियो ।

गत माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरेर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृतावस्थामा फेला परेका थिए । श्रीमान मृतावस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् ।

प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमानलाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

उनका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको छ । मृतक रामबहादुरले दैनिक मदिरा सेवन गर्ने गरेका थिए । घटनाको दिन पनि उनले मदिरा सेवन गरेर सुतेका थिए । मृतावस्थामा फेला परेका उनको घाँटीमा नीलो डाम देखिएपछि हत्या भएको हुन सक्ने प्रहरीलाई शंका थियो ।

उनको शव परीक्षणमा सामान्य मृत्यु नदेखिएकाले प्रहरीले विस्तृत रुपमा घटनाको अनुसन्धान थालेको थियो । मृतकको घाँटी थिचेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमानको मृत्युपछि सम्झनाले १३ दिने काजकिरियासमेत गरिसकेकी थिइन् ।

घटना घटेपछि शुरुमा सम्झनाले मृतकको शव परीक्षण गर्न आनाकानी गरेकी थिइन् । मृतकका अन्य आफन्तले शव परीक्षण गर्नुपर्ने बताएपछि मृतकको शव परीक्षण भएको थियो । उनलाई विभिन्न चरणमा सोधपुछ गर्दा निजले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्