मुख्यमन्त्री गुरुङको सम्पति विवरण सार्वजनिक



पोखरा : गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक भएको छ ।

उनीहरूको सम्पत्ति विवरण संसद र मन्त्रिपरिषद कार्यालयलाई पटक पटक बुझाएका थिए तर सार्वजनिक भने भएको थिएन ।

प्रदेश सभाको लेखा समितिले सम्पत्ति सार्वजनिक गर्न भनेको थियो । मन्त्रिपरिषद प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सम्पत्ति उनको आफ्नै व्यक्तिगत नामको खातामा १६ लाख ५० हजार रुपैयाँ रहेको छ ।

एभरेस्ट बैंकको पोखरा शाखामा उक्त रकम छ । प्रदेश सरकार प्रमुखका हैसियतमा गुरुङले प्राप्त गर्ने पारिश्रमिक लगायत सुविधा उक्त बैंकको खातामा जम्मा हुँदै आएको छ । सिभिल बैंकमा उनकै नाममा १ लाख रुपैयाँ नगद रहेको छ । मुख्यमन्त्रीका पाइलट छोरा विज्ञान गुरुङसमेतको नामको सम्पत्ति पनि मुख्यमन्त्री गुरुङको विवरणमा उल्लेख छ । विज्ञानको नाममा नबिल बैंकमा ६० र लक्ष्मी बैंकमा १० लाख रुपैयाँ नगद जम्मा छ ।

उक्त नगद विज्ञानले तलब भत्ताबाट आर्जेको सम्पत्ति भएको विवरणमा उल्लेख छ । उनको सम्पति विवरणमा सुन ५१ तोला, र चाँदी ९० तोला रहेकोसमेत उल्लेख छ । उनकी श्रीमती कुमारीमुनि गुरुङको नाममा जनकल्याण सहकारीमा ५ लाख, सिभिल बैंकमा ३ लाख ५० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख रुपैयाँ रहेको विवरण मन्त्री बस्नेतले सुनाए ।

मुख्यमन्त्रीकी श्रीमती कुमारीमुनि निवृत्तिभरणसमेत प्राप्त गर्ने पूर्वशिक्षक र लमजुङको क्वोलासोथर गाउँपालिकाकी उपाध्यक्ष हुन् । ९ भेडा र ७ वटा बाख्रालाई पनि समेटिएको सम्पत्ति विवरणमा मुख्यमन्त्रीको नाममा लमजुङको साविक गिलुङ गाविसको वडा नं.९ मा १० रोपनी जमिन छ ।

उक्त जमिन अंशबन्डामार्फत प्राप्त भएको जानकारी मन्त्री बस्नेतले दिए । मुख्यमन्त्रीकी बहिनी आशकुमारी गुरुङको नाममा क्व्होलासोथर गाउँपालिकामा २७ रोपनी जमिन र एउटा घर छ । बहिनीले उक्त सम्पति अंशबन्डामार्फत पाएकी हुन् । अर्थमन्त्री किरण गुरुङको नाममा पोखरा १२ कुँडहरमा २२५ वर्गमिटर जमिन छ ।

तनहुँ भीमाद नगरपालिका ९ का स्थायी बासिन्दा अर्थमन्त्री गुरुङले उक्त जमिन सापटी गरी किनेको सम्पत्ति विवरणमा उल्लेख छ । उनकी श्रीमती कृष्ण श्रेष्ठले पर्वतको फलेबास नगरपालिका ६ मा ६ आना घडेरी पैतृक सम्पति माइतीबाट प्राप्त गरेकी छन् । ललितपुरको धापाखेलमा ६ आना घडेरी पनि उनीहरूले सापटी गरी खरिद गरेको जानकारी मन्त्री बस्नेतले दिएका छन् ।

अर्थमन्त्री गुरुङकी आमाको नाममा भीमाद नगरपालिकामा ११ रोपनी ५ आना जमिन छ । उनका संगोलमा ४ दाजुभाई र १ बहिनी छन् ।

स्वर्गे भइसकेका पिता तुलारामको नाममा ९० रोपनी जमिन भीमाद नगरपालिका (साविक भानुमती गाविस) मा रहेको पनि अर्थमन्त्रीको सम्पति विवरणमा छ । उनीसँग ४ तोला र श्रीमती कृष्णकुमारी श्रेष्ठसँग १५ तोला सुन छ । नबिल र एभरेस्ट बैंकमा रहेको नगदबारे भने सम्पत्ति विवरणमा उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस्