शनिबारदेखि मनकामना केवलकार बन्द हुने



काठमाडौं : मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने भएको छ ।

कोरोना भाइरसको संक्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रा.लिले आज सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ ।

कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो । अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउने छ ।

कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए । चितवनको इच्छाकामना-४ स्थित प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक ३ हजार ५०० को संख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् ।

सहायता कक्ष स्थापना : चितवनको इच्छाकामना गाउँपालिकाले कोरोनासम्बन्धी सचेतनाका लागि २ ठाउँमा हेल्थ डेस्क स्थापना गरेका छन् । गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केवलकारको बटम स्टेशन चेरेशमा स्वास्थ्य हेल्थ डेस्क आजदेखि सञ्चालनमा ल्याएको हो ।

मनकामना केबलकारमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिए । गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ दर्शनार्थी केवलकार चढेर जाने गर्दछन् ।

त्यसैलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको उनले बताए । स्वास्थ्यकर्मीसँगै नेपाल सरकार स्वास्थ्य मन्त्रायबाट जारी गरेको कोरोना सचेतनामूलक नारासहितको पर्चासमेत उपलब्ध गराएका छन् ।

गाउँपालिकाभित्रका राजमार्गका होटलमा सचेतनामूलक कार्यक्रमका साथै सचेतनामूलक माइकिङसमेत गर्न शुरु गरिएको उनले जानकारी दिए ।

हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँचसहित कोरोना सम्बन्धी सचेतनामूलक जानकारी गराउने छ । शंकास्द व्यक्तिलाई परीक्षणका लागि अस्पतालमा पठाइने उनले बताए । प्रा.लिले मन्दिर दर्शन गर्न जाने दर्शनार्थीका लागि दुर्ई हप्ता अघिदेखि नै एक जना स्वास्थ्यकर्मी राखी केवलकार चढ्नुअघि स्वास्थ्य जाँच गरिँदै आएको छ ।

अहिलेसम्मको जाँचको क्रममा कोरोनाको शंकास्पद व्यक्ति नभेटिएको मनकामना दर्शनप्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताए । उनले मनकामना मन्दिर दर्शन गर्न आउने यात्रुहरुलाई प्रवेशद्वार चितवनको ईच्छाकामना-४ स्थित चेरेशमा स्वास्थ्य जाँच गराएर मात्र केवलकार चढ्नका लागि अनुमति दिइएको बताए ।

कोरोना भाइरसको त्राससँगै मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्यामा कमी आएको छ । कायस्थका अनुसार पछिल्लो समय दैनिक २ हजारको हाराहारीमा मात्र दर्शनर्थाीहरुले केवलकार चढेर मन्दिर जाने गरेका छन् । यो समयमा विगतका वर्षहरुमा ३ हजार ५सयको हाराहारीमा दर्शनार्थीहरुले दैनिक केवलकार चढ्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्